८ मंसिर २०८१, शनिबार 1732403051
Banner

प्रधानमन्त्री मन्त्री ज्वालालाई फिर्ता बोलाउने मुडमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने मुडमा रहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले केही नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता लैजान भनेका छन् ।

बालुवाटार समाचार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले फोन गरेर माधव नेपालसँग सो कुरा गरेका हुन् । ललितपुरको बालकुमारीमा हालै भएको घटनामा मन्त्री प्रकाश ज्वालाको सवारी नै कारक बनेको निष्कर्ष सबैतिरबाट आउँदै गर्दा प्रधानमन्त्री मन्त्री ज्वालालाई फिर्ता बोलाउने मुडमा देखिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए । देउवाले प्रधानमन्त्रीको सोचमा खासै विरोध नजनाएको बताइएको छ । बालुवाटार स्रोतले सो घटनाले सरकारमाथि निकै ठूलो आक्रोस थपिएको र देशभरका युवाले आन्दोलनको तयारी समेत गरेको थाहा भएकाले मन्त्री नै बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री देखिएको दाबी गर्यो ।

प्रधानमन्त्री अहिलेको यो आक्रोसलाई केही कम गर्नका लागि यसअघि ललितपुरका सिडियो र प्रहरी प्रमुखजस्तै मन्त्री पनि बर्खास्त गर्न चाहन्छन् । यसैका लागि प्रधानमन्त्रीले माधव नेपाललाई फोन गरेको बालुवाटार स्रोतले बतायो ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । यो घटनालाई लिएर देशभरका युवाहरु आन्दोलित हुँदा सरकार पनि अप्ठेरोमा परेको छ ।

त्यसैले प्रधानमन्त्री प्रचण्ड पनि प्रकाश ज्वालालाई मन्त्रीबाट फिर्ता बोलाएर सरकारका विरुद्धको आक्रोस केही कम गर्नसक्ने योजनामा छन् । सरकारले राष्ट्रियसभाको चुनावपछि मन्त्रिमण्डलमा फेरबदल गर्ने तयारी गरिरहेको भए पनि प्रधानमन्त्री भने प्रकाश ज्वालालाई मन्त्रीबाट निकालेर आफ्ना विरुद्धको आक्रोसमा केही कमी ल्याउने योजनामा रहेको बालुवाटारको स्रोत बताउँछ ।