९ भदौ २०८३, मंगलबार 1787707074
समाचार

अज्ञात रोगले एकै दिन १८ बाख्रा र गाई मरे

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्शटोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टाभित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ । 

स्थानीय किसान प्रेमबहादुर खड्काको फममा मङ्गलवार बिहानदेखि फैलिएको उक्त रोगबाट बुधवार बिहानसम्म १८ वटा माउ बाख्रा र एउटा जर्सी गाई मरेको र अन्य बाख्राहरू बिरामी रहेको उदयपुरको त्रियुगा नगरपालिका १० का वडाध्यक्ष किरण पाण्डेले बताउनुभयो ।

लगातार पखाला लाग्ने, मुखमा फिँज आउने, आँखा भासिने , पेट फुल्ने लक्षण रहेको उक्त रोग के हो भन्ने एकिन हुन नसक्ता अहिलेसम्म गरिएको उपचार प्रयास असफल भएकोले ल्याब परीक्षणका लागि बाख्राको मल, मूत्र  र्‍याल आदिको नमुना सङ्कलन गरेर माथिल्लो निकायमा पठाइएको र थप प्राविधिक पनि बोलाएको पशु सेवा विकास कार्यालय उदयपुरका प्राविधिक अधिकृत विकास कार्कीले बताउनुभयो ।