काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् ।
निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ ।
केएमसी प्रशासनले डा.दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाका निम्ति निलम्बनको पत्र दिएको थियो ।
निलम्बनको विरोधमा डा. दाहालसहित पीजी तह पहिलो र दोस्रो वर्षका झन्डै ८० आवासीय चिकित्सक आन्दोलित छन् ।