“भविष्यउन्मुख शिक्षाले मात्र देशका लागि असल नागरिक तयार गर्न सक्छ। ती नागरिक युवा अनि सकारात्मक र रचनात्मक मनस्थितिका देशभित्रै सक्रिय हुनेछन्।” अब प्रश्न उठ्छ, शिक्षालाई भविष्यउन्मुख अर्थात युवामैत्री किन बनाउने र कसरी बनाउन सकिन्छ ? यो प्रश्नमा केन्द्रीत भएर हामीले वर्तमान शिक्षा व्यवस्थाको समीक्षा गर्दै नयाँ शिक्षाको व्यवस्थाको विकासमा आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने समय भएको छ। तर यथास्थितिमा अघि बढ्न खोज्नु भनेको नागरिकको मनस्थिति र देशको परिस्थितिलाई नकारात्मक बनाएर समस्या बल्झाइरहनु हो।
जबसम्म हामी पश्चागमनउन्मुख शिक्षा तथा सामाजिक व्यवस्थाबाट प्रशिक्षित भइरहनु पर्ने परिस्थिति कायम रहन्छ तबसम्म देशमा अतितमुखी सोच हावी भइरहन्छ। देशमा राजनैतिक तथा संवैधानिक स्थिरता कायम भएर समृद्ध देश सुखी नागरिक बनाउने राजनीति बलशाली बन्ने परिस्थिति नै तयार हुँदैन्। शिक्षाले हामीलाई युवा बनाउन र युवा भावनाका साथ देशभित्रै उत्पादन तथा सेवा क्षेत्रमा सक्रिय हुन सिकाउनु पर्छ। फेरि प्रश्न उठ्छ, युवा को हो र होइन ?
उमेरले मान्छे युवा र वृद्ध हुने होइन, उसको चिन्तन र व्यवहारले उसलाई युवा र वृद्ध बनाउँछ। युवा भविष्यमुखी हुन्छ भने वृद्ध अतितमुखी हुन्छ। युवा मनस्थितिले सुन्दर र सुनिश्चित भविष्य खोजेर सक्रिय भइरहन्छ भने वृद्ध मनस्थितिले मृत्यसँग डराएर अतितको व्याख्यामात्र गरिरहन्छ। हामीले बुझ्नुपर्छ, भविष्यले तय गर्नेछ हाम्रो अतित कस्तो थियो। त्यसैले “भविष्य सुन्दर र सुनिश्चित बनाउन हामीमा युवा चेत र आचरण हुनुपर्छ।” यदि त्यो चेत र आचरण छैन् भने कम उमेरमा पनि मान्छे बुढो हुन्छ। आज नेपालको नयाँ पुस्तामा त्यस्तै बुढो चेत र आचरण विकास भएकाले देशमा आफ्नो भविष्य देखिरहेका छैनन् र विदेश पलायन संस्कृतिमा आफ्नो भविष्य राम्रो हुन्छ भन्ने देख्दैछन्।
नयाँ पुस्ता उमेरका दृष्टिकोणले युवा देखिएतापनि उसको सोच र व्यवहारले उसलाई युवा बन्न दिइरहेको छैन्। अनि त देश युवाविहीन बन्दैछ। तर हामी भने राजनैतिक तथा संवैधानिक व्यवस्थामा समस्या देखिरहेका छौं। जबकि समस्या राजनैतिक तथा संवैधानिक व्यवस्थामा होइन, हाम्रो शिक्षा तथा सामाजिक, प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्थामा छ।
युवा नयाँ कुरा सिक्नमा केन्द्रीत हुन्छ र भविष्य सुनिश्चित बनाउने दृष्टिकोणका साथ अघि बढ्छ भने बुढो मान्छे मृत्यु अर्थात भविष्यको डरले सिक्नै खोज्दैन्। त्यसैले शिक्षाले हामीलाई जीवनपर्यन्त सिकारू बनाउन नसक्दा हाम्रो नयाँ पुस्ता युवा उमेरमा नै भएर बुढो भएको छ। शिक्षालाई लिएर नेल्सन मण्डेलाले भनेका थिए, “शिक्षा व्यक्तिगत विकासको ठूलो इन्जिन हो। शिक्षाले मात्रै किसानको छोरी चिकित्सक बन्न सक्छिन्, खानीमा काम गर्नेको छोरो खानी प्रमुख बन्न्न सक्छ। यो हामीसँग भएको कुराले बनाउँछ, हामीलाई दिइएको कुराले होइन, जसले एक व्यक्तिलाई अर्को व्यक्तिभन्दा फरक देखाउँछ।”
देश समृद्ध र जीवन सुखी बनाउन हाम्रो मनस्थिति सकारात्मक र आसावादी अनि व्यवहार रचनात्मक हुनुपर्छ। यसका लागि हामी भविष्यमुखी शिक्षा र सामाजिक , प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्थाबाट निर्देशित भइरहनु पर्छ। हाम्रा क्षमताहरू देशको समृद्धिमा प्रयोग गरिरहनु पर्छ। यो नियमित र निरन्तर चलिरहने प्रक्रिया हो। यो कुरो हामीले बुझ्नुपर्छ, तबमात्र हामी युवा भावना र आचरणका साथ सक्रिय भइरहन सक्छौं र उत्पादन प्रणालीमा योगदान दिन थाल्छौं।
हामीले बुझ्नुपर्छ, “सार्वजनिक शिक्षा स्तरीय, सर्वसुलभ र समावेसी बनाउन नसक्दासम्म नेपालको शिक्षा व्यवस्थामाथि प्रश्न उठिरहन्छ। अनि नयाँ पुस्ता देशमा आफ्नो भविष्य नदेखेर परदेशिन रमाइरहन्छ।” शिक्षाविद् इन्गे रोजेञ्डल भन्छिन्, शिक्षाले निम्न अपेक्षाहरू पुरा गरेको हुनुपर्छः
नतिजामाथिको प्रक्रियालाई महत्त्व दिन सिकाउनु पर्छ
नयाँ अभ्यासहरू प्रयास गर्ने र असफलताहरूबाट सिकाउनु पर्छ
विद्यार्थीहरूको रूचि, उद्देश्य र जोशलाई बुझेर उनीहरूलाई उनीहरूको सिकाइ यात्राको स्वामित्व लिन दिनुपर्छ
सामाजिक, वातावरणीय, आर्थिक र प्राविधि प्रणालीहरू बीचको अन्तरनिर्भरता बुझाउनु पर्छ
निष्ठा र समानुभूतिको साथ नैतिक दुविधाहरू हटाउनु पर्छ
शिक्षामा प्रविधिहरूको प्रयोग विद्यार्थीहरूको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्नका लागि गर्नुपर्छ। जसरी शिक्षामा मातृभाषालगायत अन्य भाषाहरूको प्रयोग विद्यार्थीको बोधशक्ति बढाएर सिकाइको आधार बलियो बनाउन र समुदायको पहिचान जोगाउन अनि त्यस समुदायमा निहित ज्ञान, विज्ञान, कला, सीप र विश्वदृष्टिकोणलाई उन्नत बनाउन गरिन्छ।
यो शताब्दी नयाँ पुस्ताको शताब्दी बनाउनका लागि उनीहरूलाई नयाँ चरित्रको शिक्षा व्यवस्थाबाट प्रशिक्षित र दीक्षित गरिरहनु पर्छ। त्यहीअनुसार राष्ट्रिय नीति र कार्यक्रमसहित पर्याप्त लगानी सुनिश्चित गर्नुपर्छ। हाम्रो विश्वदृष्टिकोण र पूर्वीय चिन्तन प्रणालीको जगमा नयाँ शिक्षा व्यवस्थाको विकास गर्दै विद्यार्थीहरूलाई वैश्वीक नागरिक बन्नेगरी प्रशिक्षित गर्ने इच्छाशक्ति राजनीतिक र प्राज्ञिक नेतृत्वहरूमा हुनुपर्छ। तर यो ज्ञान उनीहरूमा आजसम्म देखिएको छैन्।
स्टेफेन हकिङ भन्छन्, “ज्ञानको सबैभन्दा ठूलो शत्रु अज्ञान होइन, ज्ञानको भ्रम हो।” आज हाम्रो शिक्षाले नयाँ पुस्तालाई न ज्ञाननको भ्रमबाट मुक्त गरेको छ, न घरपरिवार, समाज र देश चिनाएको छ न त परदेश नै के हो भनेर बुझाउन सकेको छ। जसका कारणले न देशको विकास अपेक्षित गतिमा हुनसक्यो न त युवाहरूमा परदेशिने प्रवृत्ति नै घट्यो। देशको दिगो विकासमा यो खालको अवस्था मुख्य अवरोध बनेको छ।
यो यथार्थलाई स्वीकार गरेर हामीले शिक्षा व्यवस्थामा आमूल परिवर्तनको रणनीतिका साथ लगानी बढाउँदै देशको दिगो विकासमा शिक्षाको भूमिका बढाउनु पर्छ। खराब शिक्षा व्यवस्थाको निरन्न्तरताले अहिले त हाम्रो देशको विकासको गतिमाथि प्रश्न उठेको छ। भोलि देशको अस्तित्वमाथि पनि प्रश्न उठ्न सक्छ। जसले आउँदा दिनमा शान्त र समृद्ध विश्व बनाउँदै मानव जातिको सामूहिक हित गर्ने “बसुधैव कुटुम्बकम्” भन्ने पूर्वीय विश्वदृष्टिकोण नै कमजोर हुनेछ।