२८ जेष्ठ २०८३, बिहिबार 1781205076
Banner

निर्लज्ज सत्ता र विवश युवा

उसले तिम्रो गद्यि
खोजेको थिएन
उसले तिम्रो राजनीति
खोसेको थिएन
उसलाई तिम्रो घृणित अनुहार
हेर्ने मन थिएन
तिम्रो फोस्रो भाषण
सुन्ने मन थिएन
उसको केही थिएन
उसको देश त थियो
देश तिमीहरूबाट लुटिएर
खोक्रो पारिएको थियो
उ आश मारिएको
निराश नेपाली युवा थियो
आँशुको कलस बोकेर
देश छोडन बाध्य थियो ।

आमाको खुसी ल्याउने
बहिनीको मन राख्ने
भाईको स्कूल खोज्ने
ऊ सँग कुच्चिएको , थिचिएको , मिचिएको
जे भनौ एक थान
सानो सपना थियो ।

तिम्रो महलमाथि
आँखा लगाएको पनि थिएन
तिम्रो अरवौको धनमा
भाग खोजेको थिएन
तिम्रो सत्तालाई
चुनौति दिएको थिएन
उ व्यवस्था वदलिए पनि
अवस्था नसुध्रिएको
अभागी नेपाली नागरिक थियो
दुखको भारि बोकेर
देश छोडन बाध्य थियो ।

तिम्रा कुकृत्यहरूको सिलसिला
तिम्रा अमानवीयताको पदचाप
तिम्रा काला धनको डङ्गुर भित्र
तिमीले लुटेका युवाका सपनाहरू
तिमीले बन्धक बनाएको राज्यका कानूनहरू
सबै सबै हिसाव किताव गर्न छोडेर
उ मौन थियो
आवजविहीन गरिव जनता थियो
मुटुमा देश राखेर
देश छोडन बाध्य थियो ।

घरको खुसी खोज्न
उ भौतारिएको थियो
उ सँग श्रमका हात थियो
तिमीले देशमा प्रयोगविहीन बनायौ
उ सँग देश बोक्ने क्षमता थियो
तिमीले त्यसलाई आफनो ऐयासीमा लगायौ
तिम्रो राज्यका प्रणालीहरूप्रति
उसको विश्वास गुमेको थियो
प्रशासन उसको भएन
अदालतमा उसको पहुँच थिएन
तिम्रा झुटा फोस्रा कुराहरूमा
उसको भ्रम टुटेको थियो
उसले खोजेको काम थियो
सम्मानको जीवन थियो
तिमीले दिन सक्ने त थिएनौ
सत्ता उन्मादमा मात्तिएका तिमी
तिमीले उसको जीवन खोस्यौ
दुखी आमाको आधार खोस्यौ
बहिनीको तिज र तिहार खोस्यौ
प्रियाको अंगालो खोस्यौ
निर्लज्ज तिमी
लाखौ युवाका सपना मारेर
तिमीले गाँस माग्नेको
सास खोस्यौ

राजु महत
चन्द्रागिरी -१५