३१ बैशाख २०८३, बिहिबार 1778791920
Banner

सरकारले भारतसँग गरेको सम्झौता राष्ट्रघात हो: महेश बर्तौला

काठमाडौं- नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले भारतसँग गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाउनु भएको छ ।

बुधबार कानून समितिको बैठकमा बोल्दै बर्तौलाले भारतीय दूतावासलाई नेपालमा रु.२० करोड रूपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौतामा राष्ट्रघात गरेको बताउनु भएको हो।

सचेतक बर्तौलाले सरकारले गरेको सम्झौता सदनलाई जानकारी गराउन माग गर्नुभयो। उहाँले यो सम्झौता संविधानविपरीत भएकाले राष्ट्रहित प्रतिकूलको आचरण गर्ने कुरा दण्डनीय रहेको बताउनु भयो ।

सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ५ बमोजिम अहिलेको सम्झौता हो ? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रतालाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा तपाईं भन्न सक्नुहुन्छ ? तपाईं यो सम्झौताप्रति गर्व गर्दै हुनुहुन्छ। तर, यो सम्झौताले देशको राष्ट्रघातको जरा काट्ने काम भएको छ।’

यो सम्झौता संविधानविपरीत भएकाले राष्ट्रहित प्रतिकूलको आचरण गर्ने कुरा दण्डनीय हुने सचेतक बर्तौलाको भनाइ छ।

उहाँ भन्नुभयो, ‘सरकारले नेपालको चार किल्लाभित्र एक रुपैयाँ खर्च गर्न पनि संसदको अनुमति चाहिन्छ। संसदले अनुमति नदिएसम्म खर्च गर्न सक्दैन। तर, एउटा देशले आफूले चाहेको योजनामा गर्न मिल्दैन। त्यो स्वीर्कान सक्दैन। राष्ट्रघात हो।’