काठमाडौं- यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भनेको छ । भूकम्पका कारण ती दुई जिल्लामा कक्षा १० को परीक्षा दिने विद्यार्थीमध्ये करिब २ हजार ७ सय विद्यार्थी बढी प्रभावित भएपनि त्यहाँ पठनपाठन भैरहेको र विद्यार्थी तथा शिक्षकहरुले परीक्षामा सहभागी हुने बताएको पनि बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालयमध्ये १-२ वटाको मात्र परीक्षा केन्द्र सार्नुपर्ने अवस्था देखिएको पनि बताउनुभयो ।
त्यस बखत कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस पटकको परीक्षामा रजिष्ट्रेशनका आधारमा ४ लाख ९० हजार परीक्षार्थी परीक्षामा सहभागी हुने बताउनुभयो । यसैगरि खुल्ला शिक्षाका र रजिष्ट्रेशन फारम भर्न बाँकी रहेका विद्यार्थीको संख्या आउन बाँकी रहेकाले परीक्षा दिने विद्यार्थी बढ्न सक्ने अनुमान कार्यालयले गरेको छ ।
यस पटकको परीक्षामा नयाँ पाठ्यक्रम अनुसारको प्रश्नपत्र सोधिने भएको छ । जसअनुसार सम्पूर्ण विद्यालयहरुले नयाँ विशिष्टिकृत तालिका अनुसार पठनपाठन गराउनुपर्ने पनि बोर्डले जनाएको छ ।
साथै यस पटकको परीक्षामा ननग्रेडींग पद्धति लागु हुने भएको छ । अर्थात् ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थी अनुत्तिर्ण हुने व्यवस्था गर्न लागिएको पनि बोर्डले जानकारी दिएको छ ।