४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 12:48 pm
समाचार

जाजरकोट भूकम्प: रूकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

सूचना प्रेस २०८० माघ ७ आइतबार ००:००, १७:२७ बजे १ मिनेट पढाइ

रुकुम पश्चिम। गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्।

भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन्। अझै कतिपय पनि भूकम्पपीडित त्रिपालको भरमा तथा चर्किएको घरमा रात काट्न बाध्य छन्। दुई महिनामा १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो। अझै पनि सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो।

बढुवाका अनुसार जिल्लाभर सात हजार चार सय ९७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्। जिल्लामा २९ हजार चार सय छ लाभग्राही पहिचान भएका जनाउँदै बाँकी लाभग्राहीका लागि अस्थायी आवास निर्माण हुन नसकेको उहाँले बताउनुभयो।

हालसम्ममा सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा पाँच हजार चार सय ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० अस्थायी आवास निर्माण भएका छन्। हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रू २५ हजारका दरले रकम पठाएको छ।

भूकम्पबाट पीडितको लागत सङ्कलन भइरहेकाले लाभग्राहीको सङ्ख्या तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ।