काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गर्नुभएको छ।एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले साे कुरा बताउनु भएको हो।
दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै अध्यक्ष ओलीले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्। यस्ता कुरामा के बहस गरिरहने बेकार।’
२०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो।
अध्यक्ष ओलीले तत्कालीन युजराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको बताउनु भयो । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उहाँले भन्नुभयो, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो । राजतन्त्र समाप्त गर्यो।’
राजाको जेठो छोरा राजा हुने व्यवस्था भएपनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको अध्यक्ष ओलीले बताउनु भयो। यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको उहाँले बताउनु भयो।
पूर्वराजा शाहले शनिबार वीरगञ्जमा भएको कार्यक्रममा २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोल्नु भएको थियो।
‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भन्नु भएको थियो।
पूर्वराजा शाहले गरेको यस्तो अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष ओलीले आइतबार ज्ञानेन्द्र कुशका मात्र राजा रहेको प्रतिक्रिया दिनु भएको हो।