९ मंसिर २०८१, आइतबार 1732439173
Banner

दिगो विकासका लागि गुणस्तरीय शिक्षा

शिक्षाले हरेक नागरिकलाई लोकल र ग्लोबल बनाउने फोकलमा राखेर नियमित प्रशिक्षित र उत्प्रेरित गरिरहनु पर्छ। अनिमात्र हामीले गुणस्तरीय शिक्षाको महत्त्व बुझेर शिक्षामा लगानी बढाएर देशको सामाजिक आर्थिक अवस्था सबल र अब्बल बनाएर दिगो विकासको लक्ष्य हासिल गर्न सक्छौं।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लागि शिक्षा दशकमा भनिएको छ, दिगो विकासको लागि शिक्षा भनेको शिक्षण र सिकाइमा दिगो विकासका प्रमुख मुद्दाहरू समावेश गर्नु हो। उदाहरणका लागि जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता, गरिबी न्यूनीकरण र दिगो उपभोगलाई लिन सकिन्छ।

आज हाम्रो सबभन्दा ठूलो समस्या नकारात्मक सामाजिक मनोविज्ञान र भ्रममा परेर भावनात्मक रूपमा भड्किएका हामी जनता हौं। नकारात्मक मनोविज्ञान विकास हुनुको मुख्य कारण राजनीति, राजनीतिक दल र यसका नेताहरू मात्र होइनन् भन्ने यथार्थ हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौं। तर अझै पनि हामी राजनीतिलाई मात्र दोष देखाएर दिगो विकासका मूल मुद्दाहरूबाट विमुख भइरहेका छौं। हामीले बुझ्नु र बुझाउनु पर्छ, मुख्य समस्या हाम्रो आजको शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थामा छ।

आज हामी अमेरिका, अस्ट्रेलिया, युरोप, कोरिया र जापानलगायतका मुलुकहरूमा भइरहेको विकास देख्छौं। ति मुलुकहरूको स्थापित पद्धतिको तारिफ गरिरहन्छौं। तर आफैं भने हामी न देशमा असल पद्धति बसाल्न सहयोगी हुन्छौं न त देशको दिगो विकासमा सकारात्मक र रचनात्मक योगदान गर्न तयार हुन्छौं। फेरि मौका पाउना साथ हामी ज्यानको बाजी राखेर भएको जायजेथा सकेर अमेरिकन, अस्ट्रेलियन र युरोपियन बन्न रमाउँछौं। यो खालको मनोविज्ञानबाट हामी मुक्त नहुँदासम्म देश समृद्ध नागरिक सुखी बन्न सक्ने परिस्थिति र आधार तयार हुने छैन्।

शिक्षाले हाम्रो सबैको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ र हामी सबैलाई हाम्रो उच्चतम क्षमतामा पुग्नका लागि मार्ग प्रशस्त गर्छ। जब हामी जीवनमा शिक्षाको महत्त्वका बारेमा कुरा गर्छौं, शिक्षा भनेको के हो भनेर बुझ्न धेरै महत्त्वपूर्ण छ। यस सन्दर्भमा यहाँ मार्टिन लुथर किङ जुनियरका भनाइ बढी सान्दर्भिक हुन्छ। मार्टिनले भनेका थिए, शिक्षाको काम व्यक्तिलाई गहन रूपमा सोच्न र आलोचनात्मक रूपमा सोच्न सिकाउनु हो। शिक्षाको लक्ष्य व्यक्तिमा असल बुद्धि र चरित्रको विकास गर्नु हो। मार्टिन अगाडि भन्छन्, अन्धकारलाई अन्धकारले हटाउन सक्दैन्, यसका लागि उज्यालो नै चाहिन्छ।

हामीले दिगो विकासलाई नेपालको सन्दर्भमा बुझ्न परिभाषित गर्न सकिरहेका छैनौं। अनि त बाह्य शक्तिले दिएको परिभाषालाई आधार बनाएर नेपालमा दिगो विकासको कुरा गरिरहेका छौं। जसले गर्दा हाम्रो सन्दर्भ, क्षमता र आवश्यकतालाई केन्द्रमा राखेर नीति र योजना बनाउने अनि त्यसलाई कार्यान्वयनमा लैजाने योग्यता हामीमा विकास भएन। हाम्रो विश्वदृष्टिकोण पनि भ्रममा अलमलिएको छ। त्यसैले त हिजोभन्दा आज नेपालमा साक्षरता दर बढेको देखिन्छ र हामी रूपमा शिक्षित भइरहेका देखिन्छौं तर सारमा हामी ठीक उल्टो अवस्थामा छौं। परिणामस्वरूप नेपालीहरू विदेश पलायनमा रमाएका छन् र नेपाल कमजोर र परनिर्भर बनिरहेको छ।

आजको आवश्यकता देश विकासको लक्ष्य बनाएर हामीले नेपालमा दिगो विकासको रणनीति बनाउनु पर्छ। नेपालमा दिगो विकासका लागि शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्था कस्तो हुनुपर्छ, यसका प्रश्नमा खुला बहस गर्न हामी मुख्य सरोकारवालाहरू तयार हुन सक्नुपर्छ। हामीले हाम्रो आवश्यकता र क्षमताको अध्ययन नै नगरी लहलहैमा लागेर जसरी सपना बाँडिरहेका छौं, त्यसले आमनागरिकमा अस्वभाविक रूपमा अपेक्षा बढाएको छ। जनतामा बढेको अपेक्षाको उपेक्षा हुँदा जनतामा वितृष्णा र असन्तुष्टीसँगै स्वछन्दता र अराजकता पनि बढेको छ। जसले गर्दा राजनीतिमा विचार, चरित्र र नैतिकहीन पात्रहरूले आफूले आफैंलाई महान देखाउन र जनतालाई झुक्याउन सफल देखिएको अवस्था छ। फौजदारी अभियोगमा जेलमा बस्नु पर्ने मान्छे नायक बनेर देशलाई अप्ठ्यारोमा पार्ने राजनीति गरेर जनताको मनस्थिति र देशको परिस्थिति अस्वभाविक रूपमा नकारात्मक बनाउन सहयोगी भइरहेको छ। त्यसैले दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षामा गुणात्मक परिवर्तन नै पहिलो सर्त बनाउनु पर्छ।

हामीले बुझ्नुपर्छ, राजनीतिक नेतृत्वहरूमा राजनीतिक विचारधारा, देश विकासको दिर्घकालीन दृष्टिकोण र नैतिक चरित्र पनि हुनुपर्छ। राजनीतिक विचारधारा, देश विकासको दिर्घकालीन दृष्टिकोण र नैतिक चरित्रबिनाको पात्रलाई पहिलो कुरा त राजनीतिक नेता बन्ने अधिकार हुँदैन् भने दोस्रो जनतामा त्यस्ता खराब पात्रलाई सामाजिक बहिष्कार गर्न सक्ने क्षमता शिक्षा तथा सामाजिक व्यवस्थाले विकास गरिरहेको हुनुपर्छ। तर अहिले जसलाई फौजदारी अभियोग लगाउनु पर्ने हो र फौजदारी अभियोगमा जेलमा हुनु पर्ने हो त्यस्ता पात्रहरू कानुनी छिद्र र शिक्षा तथा सामाजिक व्यवस्थाको कमजोरीलाई प्रयोग गरेर राजनीतिक पार्टीको मुख्य नेता बनेका छन्।

त्यस्ता खराब पात्रलाई नेता बनाएर र अघि लगाएर देशको अवस्थामा सकारात्मक परिवर्तन गर्न सकिदैन् भन्ने चेत हामीमा आएको छैन्। रवी लामिछाने, रेशम चौधरी र दिपक मनाङे अर्थात राजिव गुरूङजस्ता पात्रहरू यसको जल्दोबल्दो उदाहरणका रूपमा लिन हामीले कञ्जुस्याईं गर्नु पर्दैन्। अरू त अरू डा। स्वर्णिम वाग्ल जो विदेशमा उच्च शिक्षा हासिल गरेका र विदेशीहरूका लागि परामर्श दिने क्षमता राख्ने पात्र पनि तिनै खराबलाई अघि लगाएर हिंडेका छन्। यसबाट हाम्रो शिक्षित वर्गको क्षमता सजिलै आँकलन गर्न सकिन्छ। त्यसैले यति बेला आमजनतालाई सही सूचना र गुणस्तरीय शिक्षामार्फत असल र खराब चिन्न र छुट्याउन सक्ने बनाएर दिगो विकासका लागि सही राजनीति र नेतृत्व पक्षमा उभिन सक्ने बनाउनु पर्ने भएको छ।

हामीले बुझ्नुपर्छ, दिगो विकासका लागि गुणस्तरीय शिक्षा अनि असल र सबल नेतृत्व आवश्यक छ र सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित नभएसम्म असल र सबल नेतृत्व पनि तयार हुँदैन्। असल र सबल नेतृत्व तयार हुनका लागि सबभन्दा पहिले नागरिक असल हुनका लागि सबैले सही सूचना र गुणस्तरीय शिक्षा पाएको हुनुपर्छ। अन्यथा खराब राजनीति र नेतृत्वबाट सुशासन पाउने परिकल्पनाका साथ भौंतारिरहने परिस्थिति कायमै रहन्छ। त्यसैले सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ भनेर सरोकारवालाहरूको घैंटोमा घाम लाग्नुपर्छ।

शिक्षा दिगो विकासको आधार हो भने असल नागरिक दिगो विकासका पूर्वाधार हुन्। शिक्षाले मानव विकासमा सीप र ज्ञानको वृद्धि र नागरिकको जनजीवन स्तरीय बनाउन सधैं महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अर्को शब्दमा शिक्षाले बालबालिकाहरूलाई स्वतन्त्र रूपमा आफ्नो भविष्य निर्माण र देशमा दिगो विकासको आधार तयार गर्न मुख्य सहयोगीको भूमिका निर्वाह गरिरहेको हुनुपर्छ। आज देशमा न दिगो विकासको आधार तयार गर्ने शिक्षा व्यवस्था छ न त नागरिक नै दिगो विकासको पूर्वाधार बन्न सकेका छन्। जसले गर्दा हामी सम्भावनाहरूका बीचमा पनि पछाडि परेर कमजोर र परनिर्भर भइरहेका छौं।

आज हामी नेपालीहरू जसरी मृगले आफैसँग भएको कस्तुरी नचिनेर त्यसको खोजीमा उफ्रिन्छ र कुद्छ, त्यसरी नै सुरक्षित भविष्यको खोजीमा असुरक्षित गन्तव्यतिर दौडिरहेका छौं। जबकी एकचरण दृढ इच्छाशक्तिका साथ राष्ट्रिय विकासका लक्ष्य बनाएर हामीले हाम्रा सामार्थ्यहरू देशभित्रै उपयोग गर्ने मनस्थिति बनायौं र परिस्थित तयार गर्न सक्यौं भने ५,१० वर्षभित्रै नेपाललाई समृद्ध र बलियो देश बनाउन सकिन्छ। यसो गरियो भने विश्व मानचित्रमा नेपालको पहिचान नागरिक निर्यात गरेर वस्तु आयात गर्ने मुलुकबाट विकसित राष्ट्रको सूचिकृत चिनिने छ।

गुणस्तरीय शिक्षाले समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्छ र सबैका लागि आजीवन सिक्ने अवसरहरूको प्रवर्द्धन गर्छ। यहाँ हाम्रा लागि माल्कोल्म एक्सको भनाइ सान्दर्भिक देखिन्छ। उनी भन्छन्, शिक्षा भविष्यको राहदानी हो, किनकी भविष्य भोलिका लागि तयारी गर्नेहरूको हो। त्यसैले सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नेगरी नीति बनाउनु र लगानी पनि बढाउनु पर्छ।

युनेस्कोका अनुसार गुणस्तरीय शिक्षाले

विद्यार्थीहरूलाई वरिपरिको संसार बुझ्न मद्दत गर्छ

विद्यार्थीहरूलाई जीवनपर्यन्त सिकारू बनाउँछ

दिगो विकासको लक्ष्य हासिल गर्न सघाउँछ

दिगो विकासका लागि जीवनोपयोगी सीपहरू दिन्छ

अन्तमा नेपालमा दिगो विकासको लक्ष्यहरू हासिल गर्नका लागि हामीले सार्वजनिक शिक्षा स्तरीय, व्यावहारिक, सर्वसुलभ र समावेशी बनाउन राज्य र अभिभावकहरूले लगानी बढाउनु पर्छ।