२४ मंसिर २०८१, सोमबार 1733795774
Banner

शिक्षाको चरित्रले देशको चित्र निर्धारण गर्छ

‘असल चरित्रको गुणस्तरीय शिक्षा कुनै पनि समाजको दिगो सम्वृद्धिको आधार हो भने चरित्रवान, नैतिकवान र क्षमतावान नागरिक समृद्ध नेपालको बलियो पूर्वाधार हो।’

देशको चित्र अर्थात अवस्था बदल्न सबभन्दा पहिले शिक्षाको चरित्रसँगै राजनीतिको चरित्र पनि प्रगतिशील र लोकतान्त्रिक बनाउनु पर्छ। पुरानो चरित्रको शिक्षा व्यवस्था नियमित गरेर नयाँ चरित्रको राजनैतिक तथा संवैधानिक व्यवस्था टिकाऊ पनि बन्दैन्। नेपालमा बारम्बारको राजनैतिक तथा संवैधानिक अस्थिरताको कारण पनि त्यही हो। त्यसैले आज हामीले बुझ्नुपर्छ, शिक्षाको चरित्र गुणस्तरीय बनाउन नसक्दासम्म देशको अवस्था जनताका अपेक्षानुसार बनाउन अर्थात सामाजिक(आर्थिक रूपान्तरण गर्न सक्दैनौं।

शिक्षा र राजनीतिको चरित्र देशको दिर्घकालीन हितमा अघि बढाउनु पर्छ। गुणस्तरीय शिक्षाले आमजनताको चेतना, विवेक र व्यवहारलाई नैतिक र चारित्रिक बनाउन सघाउँछ भने वैचारिक राजनीति अर्थात प्रगतिशील र लोकतान्त्रिक राजनीतिले देशको समग्र प्रणालीलाई व्यवस्थित रूपमा अघि बढाउने असल चालकका रूपमा काम गर्नुपर्छ। यसर्थ शिक्षा र राजनीतिलाई अलग राखेर देशलाई अघि बढाउन सकिन्न। गुणस्तरीय शिक्षाले राजनीतिलाई ठीक बाटोमा हिंड्न सघाउँछ भने असल राजनीतिले देशको स्वार्थमा शैक्षिक, प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक प्रणाली र नीति तय गर्न नेतृत्वदायी भूमिका खेल्न सक्ने सामर्थ्य देखाउँछ। त्यसैले शिक्षा र राजनीति ठीक नभएसम्म राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन गरिएतापनि त्यसले देशको अवस्थामा सकारात्मक र रचनात्मक परिवर्तन गर्न सकिदैन्।

नेपालको राजनीति र शिक्षाको सुक्ष्म विश्लेषण गर्ने हो भने थाहा हुन्छ, शिक्षा व्यवस्था बिग्रिएर नागरिकको मनस्थिति र देशको राजनीति बिग्रियो अनि राजनीति र शिक्षा व्यवस्था बिग्रिएर देशको समग्र प्रणाली अर्थात प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक व्यवस्था र नीति पनि बिग्रियो। जसका कारणले राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तनपछि जनतामा बढेको अपेक्षा पूरा नहुँदा जनतामा अस्वभाविक रूपमा वितृष्णा र असन्तुष्टी पनि बढ्यो। यो आजको वस्तुगत यथार्थ हो। त्यसैले देशको अवस्थामा गुणात्मक परिवर्तन ल्याउन शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै राजनीतिलाई बढी वैचारिक र व्यावहारिक बनाउँदै प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक व्यवस्थामा संरचात्मक परिवर्तन गरेर त्यसलाई जनमुखी र देशमुखी बनाउनु पर्छ।यति बेला हामीले बुझ्नु र बुझाउनु पर्छ, ूसबै कुरा शिक्षा र राजनीतिको वरिपरि केन्द्रीत छ अनि यसमा नै शक्ति छ।ू यो शक्तिको प्रयोग गर्ने राष्ट्रिय योजना र नीति बन्न नसक्दा अहिले जनतामा बढेको वितृष्णा र असन्तुष्टीलाई आधार बनाएर एकातिर गणतन्त्रको विकल्पमा राजतन्त्र भनिदैछ भने अर्कातिर नयाँ मात्रै ठीक अरू सबै बेठीक भन्ने खराब भाष्यको जगमा विचारहीन राजनीति गर्न नैतिकहीन र चरित्रहीन पात्र मिसन ८४ भन्दै भ्रम छरेर जनतालाई भावनात्मक रूपमा भड्काउँदैछ। फेरि यी दुबै पक्षको लक्ष्य राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरेर नेपालमा नियन्त्रित अस्थिरता बढाउनु हो।

यो खालको रणनीति बुझेर जनताको विवेक र चेतनाले पनि असल र खराबको फरक छुट्याउन सकिरहेको छैन्। त्यसैले त लहलहैमा लागेर देश र आफैविरूद्ध भइरहेका गतिविधिहरूमा पनि सहयोगी भइरहेको छ र त्यस्ता गतिविधि गर्ने पात्रहरूलाई आदर्श ठानेर आफ्नो अभिमत दिन खोजिरहेको छ। परिणामस्वरूप यसले वैचारिक राजनीतिलाई विवादित र कमजोर बनाएर देशलाई नै कमजोर बनाउने छ। राजनीतिमा लागेका पात्रहरूको राजनीतिक दृष्टिकोण, नीति र कार्यक्रम अनि ति पात्रहरूको विगतको त्याग र योगदानहरूलाई तुलनात्मक अध्ययन र विश्लेषण गरेर तिनका बारेमा धारणा बनाउनु पर्छ। अन्यथा भ्रमित भएर पछि लाग्दा एकातिर लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ भने अर्कातिर राष्ट्रिय स्वाभिमानमाथि संकट आउने छ।

हामीलाई सहयोग गर्ने पश्चिमा दाताहरूको नीति र अनुदान पनि अचम्मको छ। गरिबी निवारण र शिक्षा तथा साक्षरता सहयोग गर्छु भन्छन् तर गरिबहरूलाई क्रिश्चियन बनाउने कार्यक्रमहरू गर्छन्। शिक्षा तथा साक्षरताको आवरणमा बाइबल पढाइरहेका छन्। मैले नबुझेको क्रिश्चियन बनेपछि गरिब मान्छे स्वतः धनी हुने हो ? त्यसैले यस्ता गलत नीति र नियत भएका दाताहरूमाथि राज्यले मूकदर्शक भएर बस्ने होइन, प्रतिबन्ध नै लगाउनु पर्छ। नागरिकहरूले पनि त्यस्ता गतिविधिहरूको कडा विरोध गर्नुपर्छ।

आज देश एकातिर ग्लोबल नर्थका कारण भाषिक, सांस्कृतिक र धार्मिक अतिक्रमणमा परेका कारणले त अर्कातिर अंगिकृत नेपाली र भूतपूर्व नेपालीहरूका अस्वभाविक सक्रियता र गतिविधिहरूका कारणले अप्ठ्यारोमा पर्दैछ। यो आजको यथार्थ हो। तैपनि जनता जानेर नजानेर तिनै ग्लोबल नर्थ अर्थात दाता अनि अंगिकृत र भूतपूर्व नेपालीहरूको पछि लाग्न खोजेका छन्। तिनकै पक्षमा सडक, सदन, सत्ता, सञ्चार र सञ्जालहरू प्रयोग भइरहेका छन्। देशमा यसरी अतिक्रमण बढ्दा र राजनीति प्रदुषित भइरहँदा पनि त्यसका विरूद्धमा राजनीतिक, प्राज्ञिक, न्यायिक र प्रशासनिक नेतृत्वहरूले बोल्न सकिरेहका छैनन्। एउटा प्रश्न, सांस्कृतिक पहिचानमाथिको अतिक्रमण बढाएर अनि हिजो नेपाली नागरिकता र पहिचान त्यागेर वफादार रूपमा विदेशी हुन्छु भनेर सपथ खाएको पात्रलाई अघि लगाएर देशको भलो कसरी हुन्छ ?

हामीले आज बुझ्नुपर्छ, ूइण्डोवेस्टले एकैपटक धेरै रणनीतिका साथ आफ्ना योजनाहरू कार्यान्वयमा लैजाने खुला र गोप्य गतिविधिहरू गरिरहेका छन्। एकातिर सांस्कृतिक अतिक्रमण बढाउन लगानी गरेको छ भने अर्कातिर अंगिकृत नेपाली र भूतपूर्व नेपालीहरूमार्फत नेपालको राजनीति कब्जा गर्न कम्फर्टेबल सत्ता गठबन्धनमार्फत परिस्थिति तयार गरिरहेको छ।ू सांस्कृतिक अतिक्रमणबाट नेपालीहरूको मौलिक पहिचान कमजोर बन्दैछ। अंगिकृतहरू जन्मभूमिप्रति बफादार भएर त भूतपूर्वहरू आफूले सपथ खाएर नागरिकता लिएको मुलुकप्रति जिम्मेवार हुन बाध्य छन्। अनि यी पक्षहरूबाट न लोकतान्त्रिक गणतन्त्र सुदृढ हुन्छ न त देशको स्वतन्त्रता र सार्वभौमिकता नै जोगिन सक्छ।

हिजो अफगानिस्तान र युक्रेनमा त्यस्ता पात्रहरूलाई राजनीतिक गतिविधिहरू गर्नमा प्रतिबन्ध लगाउन नसक्दा आज एउटा देश अतिवादी मुस्लिमहरूबाट शाषित भएर पीडित हुन बाध्य छ भने अर्को देश अमेरिकाको योजनामा चल्दा रूससँगको विवादमा परेर सङ्कटउन्मुख हुँदा अस्तित्व जोगाउन गुहार लगाउँदैछ। यो सत्य हामी सच्चा नेपालीहरूले बुझ्नुपर्छ, देशको राजनीति र शिक्षाको चरित्र देशभक्त र प्रगतिशील बनाएर इण्डोवेस्टको रणनीति असफल बनाउँदै राष्ट्रिय राजनीति सुदृढ बनाएर जनता अपेक्षाहरूको सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र परिपूर्ण बनाउँदै समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्छ। यसका लागि जनताको चेतना र विवेक उत्कृष्ट बनाउन शिक्षाको चरित्रसँगै राजनीति पनि देशमुखी बनाउनु पर्छ। यो नै आजको आवश्यकता र राजनीतिक कार्यभार हो।

अन्तमा यदि हामी शैक्षिक र आर्थिक रूपमा कमजोर भयौं भने देश बाहिरमात्र होइन देशभित्रै पनि हामी पराधीन भएर बाँच्नु पर्ने हुन्छ। किनभने अहिले हाम्रो चेतना र विवेकले क्षणिक लोकप्रियता, प्रगति र हाईहाई खोज्ने कमजोरी गरिरहेको छ। अनि हाम्रो यो कमजोरीको जगमा अंगिकृत र भूतपूर्व नेपालीहरूले इण्डोवेस्टको स्वार्थमा राजनीति गर्न उत्साहित भइरहेका छन्। त्यसैले शिक्षा र राजनीतिको चरित्र बदल्न र गुणस्तरीय बनाउन हामीले सचेतनाका साथ आफ्ना अभिमत र अधिकारहरू जिम्मेवार भएर प्रयोग गर्नुपर्ने भएको छ।