काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको छ ।
शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफू तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएकोसमेत दाबी गर्नुभयाे ।
उहाँले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताउनुभयो । उहाँले छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा दिएको छु । जसका कारण तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको छ । जे सहमति र सम्झौताहरु मेरो भ्रमणका क्रममा भएका छन्, ति कार्यान्वयन हुँदै जाँदा यो व्यापार व्यवसायलाई निकै ठूलो योगदान पुग्छ भन्ने मेरो विश्वास छ । त्यसका साथै उत्तरी क्षेत्रमा रहेका बासिन्दाहरुका निम्ति पनि त्यो सम्झौता र सहमतिमा भएका कुराहरुको कार्यान्वयनले निकै ठूलो महत्व राख्ने विश्वास लिएको छु ।
अस्ति भर्खरै पनि भ्रमणका क्रममा भएको सहमति र सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा चिनियाँ राजदुतसँग मैले कुरा गरेको थिएँ । खासगरी परम्परागत नाकाहरु खोल्ने विषयमा भएका समझदारी र टोखा—छहरे सुरुङ मार्गबारे यसको डिपिआर तयार गर्ने बारेमा र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको छ । यी सहमति मात्रै पर्याप्त छैनन् । थप कुटनीतिक पहल गर्नुपर्छ ।’