२८ भदौ २०८३, आइतबार 1789337860
Banner

बिपीमा २७ दिनदेखि जारी आन्दोलन टुङ्गियो, आजदेखि कर्मचारी काममा फर्किने

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ । शनिबार प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो । सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक आजदेखि नियमित काममा फर्कने छन् ।

दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ । आन्दोलनकारीलाई पूर्वाहग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ ।

उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाअघि बढाउन सक्ने आदेश दिएपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो । उक्त बैठकले फागुन ६ गतेदेखि बढुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेपनि आन्दोलनरत शिक्षक, कर्मचारीले प्रतिष्ठानका कायमुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले वार्ता गरेर लिखित सहमति जनाउनुपर्ने माग गरेपछि आज वार्ता भएको हो ।

सहमतिपत्रमा प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराल अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गर्नुभएको छ ।