२८ भदौ २०८३, आइतबार 1789339125
Banner

बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो। उक्त मुद्दामा उनलाई ९ करोड ७ लाख ६ हजार २७८ रुपैयाँ जरिवाना र तीन वर्ष कैद फैसला भएको थियो।

उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई जरिवाना र कैद सजाय तोकेको थियो। त्यसयता थापा फरार रहेका थिए। फरार प्रतिवादी खोजीको सिलसिलामा ब्युरोको टोलीले थापालाई पक्राउ गरेको अधिकारीले बताए।

थापाविरूद्ध नेपाल राष्ट्र बैंकले मुद्दा दायर गरेको थियो। थापा सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्सले फर्जी कागजात तयार गरी ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो।  कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले उनीविरूद्ध मुद्दा दायर गरेको थियो। थापालाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।