काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी माथि गरिएको सांघातिक हमलाप्रति अनेरास्ववियुले विरोध जनाएको छ।
उपाध्यक्ष अधिकारी फागुन ६ गते आइतबार गरिएको सांघातिक हमला प्रति अनेरास्ववियु केन्द्रीय कमिटीले भर्त्सना गरेको छ। ‘आफ्नो नियमित कामको सन्दर्भमा आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा कालो मोसो दल्ने र शारीरिक हमला जस्तो अनैतिक, अराजनीतिक तथा आपराधिक घटना प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
त्यस किसिमका आपराधिक गिरोहलाई जुनसुकै आवरणमा रहेका भए पनि अविलम्ब गिरफ्तार गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न अनेरास्ववियुले सरकारसँग माग गरेको छ। यस्ता गतिविधि विरुद्ध अनेरास्ववियुले सशक्त प्रतिवाद गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
चन्दा रकम नपाएको झोकमा मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरूले सीटीईभीटीका उपाध्यक्ष अधिकारीमाथि आईतबार दुर्व्यवहार गरेका थिए । अपरान्ह ११ः ३० बजे कायकक्षमा प्रवेश गरेको उक्त समुहले करिब ४ लाख चन्दा रकम माग गरेको थियो । भनेजति रकम नपाएको भन्दै वैद्य समूह बताउने डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायत ६ जनाको समूहले भक्तपुरस्थित सीटीईभीटीको कार्यालयमै पुगी अधिकारीमाथि हातपात गरेका थिए।
अधिकारीमाथि कालोमोसो दल्ने प्रयास गरे पनि ६ जनाको आपराधिक समूहमाथि उपाध्यक्ष अधिकारीले एक्लै प्रतिवाद गरेको भिडियो यतिबेला बाहिरिएको छ । दुर्व्यवहारको प्रयास असफल पार्नुभएका अधिकारीले आफूमाथि अभद्र व्यवहार गर्ने आपराधिक गिरोहमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।
उनीहरुविरुद्ध सीटीईभीटीका तर्फबाट भक्तपुर प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको बताउनुहुँदै उहाँले दुर्व्यवहारको प्रयास गर्ने वैद्य समूहका कार्यकर्तालाई तत्काल कानुनी कारबाही गर्न माग गर्नुभएको छ । दुव्यवहार गर्ने समुहले अझैपनि धम्क्याउन भने नछोडेको उपाध्यक्ष अधिकारीले सूचनाप्रेसलाई बताउनुभयो ।



