८ मंसिर २०८१, शनिबार 1732384028
Banner

काँग्रेस महासमितिको बैठक आज समापन हुँदै

काठमाडौं : ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक बिहीबार समापन हुँदैछ। छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि बैठक समापन हुन लागेको हो।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने  बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि अपराह्न समापन समारोह गर्ने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। बुधबार पाँच प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो। बन्दसत्रको शुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए। 

 ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा चार समूहमा छलफल भइरहेको छ । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस महासमितिको बैठक आज समापन हुँदैछ ।