२७ जेष्ठ २०८३, बुधबार 1781110696
Banner

रेशम चौधरीलाई अध्यक्ष बन्न आयोगले मान्यता दिएन

काठमाडौँ- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ। पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको छ।

नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो। चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिनुभएको थियो । तर उहाँले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता  शालीग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘उहाँको अद्यावधि निवेदन दिनुभएको थियो। आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो।’

राजनीतिक दलसम्बन्धी ऐन र अदालतका फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नमिल्ने आयोगले जनाएको छ।

आयोगले पार्टीको विधान अनुसार गर्ने भनिएको अधिवेशनको प्रक्रिया नै निमलेको पनि ठहर गरेको छ। अध्यक्ष बन्नका लागि केन्द्रीय सदस्य बनेको कम्तीमा एक वर्ष भएको हुनुपर्ने विधानको व्यवस्था पनि उल्लंघन भएको आयोगको ठहर छ। यसअघि आयोगमा अद्यावधिक गरिएको विवरणमा चौधरी कहिल्यै केन्द्रीय सदस्यको रुपमा नाम समावेश छैन। एकैपटक उहाँ अध्यक्ष निर्वाचित भएको जानकारी गराउँदै विवरण अद्यावधिक गर्ने पत्र पठाइएको थियो ।

आयोगले आफ्नो पार्टीको विधान र प्रचलित ऐन कानुनको समेत बर्खिलापका विवरण पठाएर अद्यावधिक गर्न भनिएकोमा यसअघि अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई सचेत गराउने निर्णय पनि गरेको छ। रेशमको नाम अद्यावधिक नभएपछि कानुनअनुसार नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता चौधरी रहेको पुरानै विवरण यथावत् रहनेछ।