पुष्कर कडेल
हाम्रो सुझबुझ र विवेकको कमजोरी बुझेको इण्डोवेष्टले हिजो क्रान्तिको आवरणमा प्रचण्डलाई बन्दुक बोकाएर, बम पड्काएर र मृत्युको त्रास देखाएर हामीलाई त्यसको पक्षमा उभिन बाध्य बनायो भने आज सञ्जालमार्फत जेलेन्स्की जस्तो लोकप्रियतावादको चर्चा चलाएर घण्टी बजाउन भन्दैछ। यो आजको राजनीतिक यथार्थ हो। तर हामीले यो यथार्थ जनतालाई भन्न सकिरहेका छैनौं। जसले गर्दा जनताहरू भिंडको भाषा र भ्रमको पछि-पछि कुदिरहेका छन्। इण्डोवेष्टले जनताको यो मनोदशालाई आफ्नो अवसर ठानेर लगानी गरिरहेको छ।
यस सन्दर्भलाई लिएर पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको भनाई बढी सान्दर्भिक हुन सक्छ। पोखरेलले भनेका छन्, बहकाउमा जनतालाई डोर्याउन पहिले तिनका आस्थामाथि चलखेल गर्नुपर्ने हुन्छ, आस्था डगमगाएको मान्छलाई मात्रै खराब सूचनाको माध्यमबाट लोकतन्त्रको विरूद्ध, लोकतान्त्रिक नेतृत्वको विरूद्ध उराल्न सकिन्छ। यो कुरा सूचनाको चलखेलमा संलग्न पात्रहरूलाई राम्ररी थाहा छ।ू पोखरेल अगाडि भन्छन्, ूजनतालाई सुसूचित गर्ने भन्दा कुसूचित गर्ने प्रयास, प्रवृत्ति र माध्यम बलियो भैदिंदा लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक नेतृत्व विकासको लोक रिझ्याईं वा एकल वैयक्तिक चमत्कारवादले लिने र जनताको आकर्षण पनि तिनैप्रति बढ्ने प्रष्टै छ। पहिले बन्दुकबाट त्रसित हुनुपर्ने लोकतन्त्र अहिले गोजी(गोजीका हाते फोनबाट त्रसित हुनुपर्ने अवस्थामा आइपुगेको छ।
यो लेखकको बुझाईमा हिजो हतियार आतंकले मान्छेलाई भौतिक रूपमा कमजोर बनाएको थियो भने त्यो भौतिक रूपमा कमजोर भएको मान्छेलाई आत्मिक वा मानसिक रूपमा कमजोर बनाउन सञ्चार र सञ्जालहरूको व्यापक दुरूपयोग भइरहेको छ। इण्डोवेष्टले हिजो प्रचण्डलाई क्रान्तिको आवरणमा बन्दुक बोकायो भने आज नेपाली भर्सनका जेलेन्स्कीहरूलाई सबै खाले सहयोग गरेर नेपालको राजनीतिमा स्थापित गर्न खोजिरहेको छ। तर यो सत्य न हिजो जनतालाई भनियो न त आज भनिदैछ। जसले गर्दा जनता पहिले क्रान्तिको जालमा परे भने अहिले चमत्कारवादको जालमा पर्दैछन्। अन्ततः यो जालले नेपाललाई अप्ठ्यारोमा पार्ने हो जसरी आज युक्रेन अप्ठ्यारोमा परेको छ।
बन्दुक आतंक गराएर हिजो गाउँघरबाट युवाहरूलाई आन्तरिक शरणार्थी बनाउँदै मलेसिया र खाडी मुलुकहरूमा सस्तोमा श्रम बेच्न बाध्य बनाइएको थियो। त्यसले गाउँघर खाली गरायो, पाखापखेरा र खेतबारीहरू बाँझो बनायो अनि खाद्यान्न माथिको परनिर्भरता बढायो। आज ति विदेशीएका युवाहरूलाई सञ्चार र सञ्जालको आतंक मच्चाएर नेपाली भर्सनका जेलेन्स्कीका पक्षमा लाग्नन दबाब दिइरहेका छन्। कुरो स्पष्ट छ, ति जेलेन्स्कीहरूबाट आफ्नो स्वार्थअनुकुल हुनेगरी नेपालमा सत्ता चलाउने नै हो। तर यो सत्य एक त जनताले बुझिरहेका छैनन् भने अर्को जनतालाई यो सत्य बुझाउने प्रयास पनि भइरहेको छैन्। जसले गर्दा सञ्जाल र सञ्चारमा आएका मिथ्या सूचनालाई आधार बनाएर जनताहरू धारणा बनाउँदैछन्। त्यही धारणालाई जेलेन्स्कीहरूले आफ्नो राजनीतिक आधार ठानेका छन्। जबसम्म जनताले सत्यतथ्य बुझेर धारणा बनाउने क्षमता देखाउँदैनन् तबबसम्म देशमा डिजिटल अर्थात सञ्चार र सञ्जालको आतंक कायमै रहन्छ।
यसका पछाडिको मुख्य कारण अमेरिकाको एक्लो महाशक्ति भइरहने चाहाना पूरा गर्ने रणनीति नै हो। अमेरिकाले आफू एक्लो महाशक्ति राष्ट्र भइराख्नका लागि युरोप र रूसलाई सामाजिक, आर्थिक र सामरिक रूप कमजोर बनाउने लक्ष्यका साथ युक्रेनको राजनीतिमा एक दशकअघि जेलेन्स्कीलाई प्रवेश गराएको थियो। आज रूस(युक्रेन युद्धले अमेरिकाको त्यो रणनीति थियो भन्ने कुरा प्रमाणित भएको छ। तर त्यतिबेला युरोपीयनहरूले अमेरिकी रणनीतिको आँकलन गर्न सकेनन्। युक्रेनीयनहरूले पनि जेलेन्स्की सत्तामा आएपछि युक्रेन अझ समृद्ध र बलियो हुन्छ भन्ने भ्रममा परेर जनादेशमार्फत उनलाई युक्रेनको राष्ट्रपति बनाए। आज रूस(युक्रेन युद्धका कारणले युरोप कमजोर हुँदैछ भने युक्रेन लगभग ध्वस्त बन्दैछ। आज युरोपीयन र युक्रेनीयनहरू अमेरिकी रणनीति बुझ्न नसकेकोमा पछुताउँदै छन्।
हामीले पनि युक्रेनीयनहरूको तितो अनुभवहरू र दुरावस्थाबाट सिकेर बुझेर नेपाली भर्सनका जेलेन्स्की अर्थात रवी लामिछानेहरूको लोकप्रियतावादी राजनीतिबाट टाढा हुन सकेनौं भने भोलिका दिनमा नेपालको अवस्था पनि युक्रेनको जस्तै हुनसक्छ। चीन र भारतको उदाउँदो आर्थिक-कूटनीतिक साम्राज्यलाई कमजोर बनाउन अमेरिकाले युक्रेनलाई झैं नेपाललाई पनि प्रयोग गर्न हिजो प्रचण्डलाई बन्दुक बोकाएर सत्तामा पुर्याएको थियो भने आज रवी अर्थात नेपाली भर्सनका जेलेन्स्कीलाई सत्तामा पुर्याउन सञ्चार र सञ्जालको प्रयोग गरिरहेको छ। चीनले त कुन्नी भारतले त अझै पनि अमेरिकाको यो रणनीति बुझ्न सकेको छैन्। त्यसैले त भारत नेपालमा नियन्त्रित अस्थिरता कायम गर्न प्रत्यक्ष भूमिका खेलिरहेको र अमेरिकाको प्रिय सहयोगी बनिरहेको छ। भारत र चीनले बुझ्नुपर्थ्यो, अमेरिकाले रूस र युरोपलाई कमजोर बनाउन युक्रेनलाई प्रयोग गरेझैं भारत र चीनलाई कमजोर बनाउन नेपाललाई प्रयोग गर्ने रणनीति अपनाइरहेको छ। युक्रेनमा जेलेन्स्कीलाई प्रयोग गरेझैं नेपालमा रवीहरूलाई प्रयोग गर्न लगानी गरिरहेको छ। एमसीसी त्यसको एउटा प्रमाण हो।
अमेरिकालाई न युक्रेनीयनहरू माया थियो न त नेपालीहरूको नै माया छ। उसको एउटै स्वार्थ आफू विश्वको पहिलो महाशक्ति राष्ट्र भइरराख्ने हो। यसका लागि उसले जे पनि गर्छ र गर्दैछ। मध्यपूर्वका राष्ट्रहरू ध्वस्त बनाउँदैछ, अफगानिस्तानलाई लगभग ध्वस्त बनाएर तालिवानको जिम्मा लगाएर छोड्यो। युक्रेन ध्वस्त हुँदैछ, अब चीन र भारत अर्थात एसियालाई कमजोर बनाउन नेपालको प्रयोग गरिरहेको छ। यो कुरो हामी नेपाली जनताले बुझ्नुपर्छ र युक्रेनको हालत हुनबाट नेपाललाई जोगाउनु पर्छ। नेपाली भर्सनका जेलेन्स्कीहरूलाई चिन्न सक्नुपर्छ। तर चिनिरहेका छैनौं।
यतिखेर हामी नेपालीका सामुन्ने एकातिर कम्फर्टेबल सत्ता गठबन्धनमार्फत हुने देश विरोधी गतिविधिहरू रोक्नु र भण्डाफोर गर्नुपर्ने जिम्मेवारी आएको छ भने अर्कातिर नेपाली भर्सनका जेलेन्स्कीहरूबाट नेपालको राजनीति र देश जोगाउनु पर्ने चुनौती थपिएको छ। यसर्थ हामीले हाम्रो विवेक, चेतना र क्षमतालाई ठीक उपयोग गर्दै हाम्रा असन्तुष्टी र आक्रोशहरूमा देश विरोधीहरूले खेल्न नपाउन भनेर होसियार हुनु पर्नेछ। अन्यथा एकातिर देशको स्वाभिमान संकटमा पर्नेछ भने अर्कातिर हामी नेपालीको जनजीवन र पहिचानमाथि नै प्रश्न उठ्नेछ। त्यसैले यी दुबै प्रवृत्तिको राजनीतिलाई कमजोर बनाउन हामीले देशभक्त, प्रगतिशील र लोकतन्त्रिक चरित्रको राजनीतिलाई बलियो बनाउनु पर्नेछ।
कम्फर्टेबवादी राजनीतिक चिन्तन र प्रवृत्ति अनि सत्ता गठबन्धनका कारणले सत्ताको दुरूपयोग भएर सुशासन, समृद्धि र सुख चाहने हामी नेपालीको अपेक्षा पूरा भएन। हाम्रा अपेक्षाहरू उपेक्षा हुँदा वा पूरा नहुँदा हामीमा असन्तुष्टी र आक्रोश बढेको छ। हामीमा बढेको असन्तुष्टी र आक्रोशले हाम्रो विवेक कमजोर बनाउँदैछ। यही हाम्रो कमजोर विवेकलाई आधार बनाएर नेपाली भर्सनका जेलेन्स्कीहरूले इण्डोवेष्टको स्वार्थमा राजनीति गर्न खोजिरहेका छन्। त्यहीअनुसार तिनले सदन, सडक, सञ्चार र सञ्जाललाई उपयोग दुरूपयोग पनि गरिरहेका छन्। यसले भोलिका दिनमा हाम्रो राष्ट्र र राष्ट्रिय स्वाभिमान अझ कमजोर बनाउने छ। त्यसैले यीनलाई परास्त गरेर देशलाई जोगाउनु पर्नेछ।