८ मंसिर २०८१, शनिबार 1732386580
Banner

एसईईमा चिट चोर्न ह्वाट्सएप ग्रुप प्रयोग गर्ने ५ जना पक्राउ

नेपालगञ्ज । एसईई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

लोटस इङ्ग्लिस मिडियम हाई स्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए वान कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानी, दिलिप बिक र सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगञ्जको जेभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला पारेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उनीहरूले ‘तेरा बाप मेरा बेटा’ नामको फेसबुक ग्रुप बनाएका थिए । जसमा एसईई परीक्षा दिइरहेका १९ जना विद्यार्थी छन् । त्यसैगरी ‘अफ्ताब सर’ नामक ह्वाटसएप ग्रुपमा थप २७ जना विद्यार्थी रहेका छन् ।

पोखरेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले यी ग्रुपमा चिट बनाएर पठाउने गरेका थिए । विज्ञान विषयको प्रश्नपत्र एक जना शिक्षकले ७ बजेर २७ मिनेटमै फोटो खिचेर चिट बनाउने ग्रुपका सदस्यलाई पठाएको पनि भेटिएको छ ।