८ मंसिर २०८१, शनिबार 1732371919
समाचार

सिद्धार्थमा भारतीय कलाकारको चित्र प्रदर्शन

काठमाडौँ, २७ चैत : कलाले सम्बन्ध जोड्छ । यही हेतुका साथ यतिबेला भारतीय कलाकारले काठमाडौँमा चित्रकला प्रदर्शन गर्नुभएको छ ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आज चित्रकला प्रदर्शनी सुरु गरिएको हो । भारतीय राजदूत नवीन श्रीवास्तवले ग्यालरीमा राखिएका चित्र अवलोकन गरेर प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । ‘भारतको सामूहिक अभिव्यक्ति’ शीर्षकमा गरिएको प्रदर्शनीमा १२ जना भारतीय कलाकारका अमूर्त शैलीका चित्र राखिएका छन् । नेपालमा प्रदर्शनी व्यवस्थापन गर्ने काम हेम रानाले गर्नुभएको छ । उहाँ नेपाली मूलका भारतीय हुनुहुन्छ । ३० वर्षअघि रोजगारको सिलशिलामा भारतको जयपुर पुग्नुभएका हेम परिवारसँग उतै बसोबास गर्नुभयो ।

आफू जन्मेको देश निकै सम्झना आउने उहाँले बताउनुभयो । जन्मेको देश र कर्म दिएको देश भारतबीच सांस्कृतिक साइनो प्रगाढ पार्न उहाँ नेपाल कला प्रदर्शन गर्न आउनुभएको हो । “मैले नेपाली कलाकारको चित्र पनि जयपुर लगेर प्रदर्शनी गरेको छु”, उहाँले भन्नुभयो, “यो कार्य निरन्तर गर्ने योजना बनाइरहेको छु ।” प्रदर्शनीमा अमित कल्ला, सि आर एम्ब्राम, हिम्मत ग्यारी, एमडी सुलेमान, रवि ठाकुरलगायत १२ चित्रकारका चित्र प्रदर्शनीमा छन् । आजदेखि सुरु भएको प्रदर्शनी १२ दिनसम्म सञ्चालन हुनेछ ।