१० श्रावण २०८३, आइतबार 1785069503
Banner

गभर्नरमाथिको कारबाही फिर्ता लिन माग गर्दै राष्ट्र बैंकका कर्मचारीको विरोध

काठमाडौं – सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् ।

राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको आव्हानमा बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरमा कालो ब्यानर झुण्ड्याइएको छ । उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयमा पनि विरोध जनाइएको संघले जनाएको छ।

‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर अधिकारीमाथि सुरू गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर’, ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर” लगायतको माग राख्दै कर्मचारीले विरोध गरेका हुन् ।

प्रदर्शनको क्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा राज्य सञ्चालक वित्तीय माफियाहरूको चंगुलमा फस्न थालेपछि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने टिप्पणी गर्नुभयो ।