पोखरा – पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने नेपाली कांग्रेसले बताएको छ।
पोखरामा आज बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको हो। कांग्रेस कास्कीका सचिव भानु ढकालले एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने बताउनुभयो ।
‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन्,’ ढकालले भन्नुभयो, ‘गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’
कांग्रेसले उक्त जानकारी गराएपछि बैठक उठेको छ। कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एकजना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताउनुभयो ।
समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिनुभएको थियो । पोखरा समाजवादीलाई दिने छलफल चलिरहेका बेला कांग्रेस कास्कीका नेताहरु पनि काठमाडौं डेलिगेसन गएर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखराको मेयर अन्य दललाई दिन नसक्ने बताएको थियो।
एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकालले बताउनुभयो । ‘जिल्लामा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ, अब उहाँहरुसँग चुनावी गठबन्धन हुँदैन,’ ढकालले भन्नुभयो, ‘जिल्लामै गठबन्धनमा नरहेपछि केन्द्रबाट लादिने सम्भावना पनि सकियो।’