२ कार्तिक २०८१, शुक्रबार 1729310641
Banner

काभ्रेको महाभारतमा एक दम्पतीको हत्या

काठमाडौं- काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ। उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन। जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत फेला परेका हुन्।

टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन।
बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए। उनीहरु दुईजना मात्रै जस्ताले बारेको र जस्ताले नै छाएको घरमा बस्दै आएका थिए।

‘पतिको शव पसल रहेको कोठामा र पत्नीको शव भान्सा कोठामा फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले भन्नुभयो, ‘पत्नीको शव रहेको कोठामा बाहिरबाट र पतिको शव रहेका कोठामा भित्रबाट चुकुल लगाएको पाइएको छ।’