“युद्धमा माली भन्दा बगैंचामा योद्धा हुनु राम्रो हो।” (जापानिज उखान) भारतमा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालको असलीयत उजागर हुन एक दशक लाग्यो भने नेपालमा नयाँ र स्वतन्त्रको आवरणमा उदाएका बहर (बालेन, हर्क र रवी) हरू अर्थात लोकप्रियतावादको नियत उजागर हुन आधा दशक पनि नलाग्ने भएको छ। वैश्वीक उत्तरको सबै खालको सहयोगमा केजरीवाल उदाएका थिए भने हाम्रा लोकप्रियतावादीहरूको सहयोग र आदर्शको श्रोत स्पष्ट खुलेको छैन्। तर पनि भारत र नेपालका जनताले न केजरीवाललाई चिन्न सकेका छन् न त बहरहरूलाई चिन्न सकेको अवस्था छ।
जनताको मनस्थिति र देशको परिस्थिति सकारात्मक नबन्नुका पछाडिको मुख्य कारणहरूमा हामी केन्द्रीत भइरहेका छैनौं। हाम्रा प्राज्ञिक वर्गहरूले पनि आफ्ना क्षमता र योग्यताहरूको निर्भिक भएर स्वतन्त्र रूपमा प्रयोग गर्न सकिरहेका छैनन्। उनीहरू शिक्षा तथा सामाजिक व्यवस्था, प्रशासनिक, आर्थिक र न्यायिक संरचनाका समस्या र आवश्यकताहरूका बारेमा चिन्तन गर्दैनन् र खुला रूपमा बोल्दैनन्। सत्यका पक्षमा उभिदैनन्। यो लेखकको मनमा प्रश्नहरू उठेको छ, प्राज्ञिकहरू किन मौन छन् ?
देश समृद्ध बनाउने मुख्य आधार युवा सोच, श्रोत, श्रम र समय हो भने त्यसअनुसारको देशको शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणाली र नीति नै हो। तर हामी नागरिक निर्यात गरेर वस्तु आयातामा रमाइरहेका छौं। यी विषयमा हाम्रा प्राज्ञिकहरूको ध्यान पुगेको छैन् अनि हामीहरू पनि भ्रमपूर्ण भाष्यमा अलमलिएर परिस्थितिलाई अराजकतातर्फ उन्मुख गराउन सहयोगी हुँदैछौं। त्यसैले समय मै हाम्रा कमजोरीहरू चिनौं र सुधारौं। देशको दिगो भविष्य निर्माणका लागि सहयोगी र सक्रिय हौं।
हिजो कम्न्युनिष्ट र माओवादीका नाममा द्वन्द्वको खेती गराउन र हत्याहिंसा मच्चाउन चाणक्य रूपमा र मुख्य सहयोगीमा रहेकाहरू आज नेपालको राजनीति कम्न्युनिष्ट मुक्त बनाउनु पर्छ भन्दै सामाजिक सञ्जाल र सञ्चारहरूमा असरल्ल पोखिएका छन्। तिनलाई आज यसो भन्न अराउनेहरूले नै हिजो तिनलाई हतियार बोकाएका थिए भन्न डराउनु पर्दैन्। तैपनि हाम्रा प्राज्ञिकहरू डराएका छन्। किन ? मान्छेका चरित्र र सोचलाई लिएर कन्फुसियसले भनेको कुरा आज हाम्रो सन्दर्भमा धेरै मिल्छ। उनले भनेका थिए, “ठूलो चित्त भएको मान्छे आफैंमा कडा हुन्छ, सानो चित्त भएको मान्छे अरूका लागि गाह्रो हुन्छ।”
यति बेला हामीले बुझ्नुपर्छ, “सकारात्मक मनस्थितिले सकारात्मक अनुभूति र जीवन दिन्छ।” यो लेखक विश्वास गर्छ, आमनागरिकको मनस्थिति सकारात्मक र व्यवहार रचनात्मक बनाउनका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तन र सामाजिक अभ्यासहरूको पुनरावलोकन अनि आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा संरचनात्मक सुधार अनिवार्य भएको छ। यो अनिवार्यता नेतृत्वलाई बुझाउनका लागि हाम्रा प्राज्ञिकहरूले अग्रसरता देखाइरहेका छैनन्। लेखकको मनमा प्रश्न उठेको छ, यस्तो किन ?
प्रमाणपत्रमा धेरै पढेको देखिने नेताले देश बनाउँछ भन्ने विश्वासमा परेर हिजो डा. बाबुराम भट्टराईको पछि लागेर हामीले देशको लोकतान्त्रिकरणको प्रक्रियालाई कमजोर मात्र बनाएनौं दरबार हत्याकाण्डमा राजा विरेन्द्रको वंशनास भएको पनि देख्यौं। आज फेरि त्यस्तै वा त्यो भन्दा ठूलो प्रकृतिको गल्ति गर्न डा. स्वर्णिम वाग्लेलाई अघि सारिरहेका छौं। फरक यत्ति हो कि हिजो बाबुरामको नेता प्रचण्ड थिए भने आज स्वर्णिमका नेता रवी बनाइएका छन्। अहिले प्रचण्ड प्रधानमन्त्री त रवी गृहमन्त्रीका रूपमा छन्। सत्य के हो भने प्रचण्ड र रवीका विगत र वर्तमानले नेपालको भविष्य संकटउन्मुख बनाउँदैछ। तर हामी यो सत्य बुझ्न र बुझाउन आनाकानी गरिरहेका छौं।
हाम्रो यो कमजोरीलाई बाह्य शक्ति (वैश्वीक नर्थ) ले उपयोग गरिरहेको घाम जत्तिकै छर्लङ्ग छ। तैपनि हामी हाम्रो आनीबानी र व्यवहारमा सुधार गर्न शिक्षा व्यवस्थाको चरित्र र आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा संरचनात्मक परिवर्तन गर्न चाहिरहेका छैनौं। अब प्रश्न उठाउनु पर्ने भएको छ, हाम्रो बुद्धिको बिर्को कहिले खुल्छ र कसरी खुल्छ ? हामी सम्भावना र अवसर नभएर होइन ति सम्भावना र अवसरको सदुपयोग गर्न नसकेर पछाडि परिरहेको सत्य स्वीकार्न किन ढिला गरिरहेका छौं ? न हामी विगतबाट सिक्छौं न त भविष्यप्रति नै चिन्तित छौं, किन ? प्रश्नहरू उठाउने र त्यसको सही उत्तर खोज्नुपर्ने भएको छ। आजको आवश्यकता पनि यही हो।