४ भदौ २०८३, बिहिबार 1787234677
Banner

अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय असार १२ गते सुनाउने भएको छ ।

तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धुको क्रममा श्रीमान्‌ अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै काभ्रेकी पूर्णिमाया लामाले सापकोटालगायत विरुद्धको जाहेरीका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरी निर्णय (फैसला) सुनाउने मिति तोकेको हो ।

अर्जुनलाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूँदै पुरेको भनी पूर्णिमायाले २०६४ मा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् । तर प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

त्यसउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ फागुन २२ गते जाहेरी दर्ता गराउने आदेश जारी गरेको थियो । त्यसपछि सापकोटा विरुद्धको दर्ता जाहेरी बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो ।