२ कार्तिक २०८१, शुक्रबार 1729256372
समाचार

भारतद्वारा सुनसरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौं । भारत सरकारले सुनसरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना निमार्ण गरेको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत कुल २.६३ करोड आर्थिक सहयोगमा उक्त परियोजना निर्माण गरिएको हो । सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको विद्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता , रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । त्यसै गरी भारत सरकारको अनुदान सहयोग इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका मेयर, इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

सुनसरीस्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पु¥याउनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा २४ वटा एम्बुलेन्स र ११ वटा स्कुल बस सुनसरी जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।