२४ कार्तिक २०८१, शनिबार 1731216841
Banner

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाँदै

काठमाडौं । आगामी शनिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ गते शनिबार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने तयारी गरेपछि उनी भारत जाने भएका हुन्।

बुधबार बेलुका प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। सोहि संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई आफ्नो सपथ ग्रहण समारोहमा भाग लिन निम्तो दिएका थिए। मोदीको औपचारिक निम्तो पाएपछि प्रधानमन्त्री प्रचण्डले भारत जाने तयारी थालेका हुन्।

स्रोतका अनुसार शुक्रबार साँझ वा शनिबार बिहानै प्रचण्ड नयाँ दिल्ली जानेछन्। प्रधानमन्त्री कार्यालयका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकले मोदीको निमन्त्रणालाई स्वीकार गरेर प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गर्नेछ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन्। भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए। राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन्।