३१ भाद्र २०८१, सोमबार 1726539175
समाचार

आजदेखि ललितपुरमा श्रमाधान रोजगार मेला

काठमाडौँ । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

“मेलाले रोजगारी मात्रै हैन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जारकारी दिनेछ”, उहाँले भन्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक विदेशिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताउनभयो । “नेपालमा रोजगारी नपाएर विदेशिनुपर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्र्याउनुपर्ने बाध्यतालाई सम्बोधन गर्नेछ”, उहाँले भन्नुभयो । 

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा हुने उक्त मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ । 

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गर्नेछन् । बुधबारसम्म सञ्चालन हुने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहनेछन् ।