३ आश्विन २०८१, बिहिबार 1726805886
राजनीति

नेमकिपा पतनको बाटोमा : नेता भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य तथा भक्तपुर नगरपालिकाका ईन्चार्ज निर्मल भट्टराईले भक्तपुर नगरमा सीमित हुन पुगेको नेमकिपा राजनीतिक, सामाजिक, सांस्कृतिक हिसाबले निरन्तर पतनको बाटोमा लागेको बताएका छन् ।

नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना तथा बधाइ दिन भक्तपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरू भ्रष्टाचारमा संलग्न भएको देखिनु, खानेपानी लगायतका समस्यामा नगरपालिकाले कुनै पहलकदमी लिन नसक्नु, भक्तपुर नगरभित्रको कहालीलाग्दो सहरिया गरिबी हटाउन नगरपालिकाले कुनै कदम नचाल्नु यसको ज्वलन्त प्रमाण हो,’ उनको कथन थियो ।

नवनिर्वाचित जिल्ला अध्यक्ष बचन देउजाले पार्टीलाई थप एकताबध्द बनाएर आगामी निर्वाचनमा नेमकिपालाई धक्का दिइने उद्धोष गरे भने नवनिर्वाचित उपाध्यक्ष किरण थापाले सङघीय र प्रदेश सरकारबाट प्राप्त हुने सुविधालाई जनताको घरदैलोमा पुर्याइने प्रतिबध्दता व्यक्त गरे । एमाले नगर अध्यक्ष मदन द्यौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य मिलन सुवाल, महेश मुनकर्मी र रञ्जना चापागाँई खर्बुजाले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।