८ मंसिर २०८१, शनिबार 1732421283
Banner

फेवातालमा डुबेर एक युवकको मृत्यु

काठमाडौं । कास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्।

पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने भण्डारी चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए। उनीसँगै पौडी खेल्न गएका अरु सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।