ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् ।
पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् ।
उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ । उद्दारमा संलग्न छिमेकी यदु बाँस्तोलाका अनुसार पहिरोले घर तथा मतान चार सय मिटर तल बगाएको छ ।