३१ भाद्र २०८१, सोमबार 1726538783
Banner

टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक चाँडै टुंगोमा पुर्याउन प्रमुख तीन दलबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरू सहमत भएका हुन् ।

माओवादी केन्द्रमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीमा सहमति खोज्न उक्त बैठक बोलाएका थिए । टीआरसीलाई चाँडै​ टुंगोमा पुर्याउन ठूला तीन दलबीच सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौला जानकारी दिए ।

‘विशेषगरी टीआरसीलाई टुंगोमा पुर्याउने विषयमै छलफल केन्द्रित थियो,’ बर्तौलाले लोकान्तरसँग भने,‘ संसदको कानून तथा न्याय समितिमा विचाराधीन रहेको विधेयकलाई पुनः छलफलमा ल्याउने र सहमति गर्ने भनिएको छ । यसका लागि तीन दल क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक–एक जना सदस्यलाई जिम्मेवारी दिइने भएको छ । तीनजना सदस्य को–को रहने भन्ने विषय एक–दुई दिनभित्रै तोकिने जानकारी बर्तौलाले दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सत्तापक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । यसअघि कांग्रेससहितको गठबन्धनकै बेला प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई टुंगोमा पुर्याउन खोजेका थिए । तर, बीचमै गठबन्धन फेरियो । गठबन्धन फेरिएलगत्तै टीआरसी विधेयकबारेको छलफलले तीव्रता पाएको थिएन ।

अहिले सत्तापक्षका प्रमुख नेता एवं एमाले अध्यक्ष ओलीले टीआरसी टुंग्याउनुपर्नेमा सकारात्मक रहेको बुझिन्छ । त्यसो त गठबन्धन बनेपछि ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’मा टीआरसीसम्बन्धी कानून तत्काल बनाउने र टुंगोमा पुर्याइने उल्लेख गरिएको थियो ।

छलफलमा कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी सहभागी थिए । त्यस्तै एमालेका तर्फबाट सहभागी अन्य नेतामा प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, अग्नि खरेल र माओवादीबाट जनार्दन शर्मालगायतका नेता सहभागी थिए ।