४ आश्विन २०८१, शुक्रबार 1726817471
समाचार

४ अर्ब लगानीमा बल्खुमा निर्माणाधीन मुलुककै ठूलो आदर सपिङ मलले आइपिओ ल्याउने

काठमाडौं। महाबौद्धका ५ सय भन्दा बढी व्यापारीहरुको लगानीमा स्थापना भएको आदर मल्टी ईन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। आइपीओ निष्कासन गर्न आदर मल्टीले बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

आइपिओ निष्कासन गर्ने सम्झौतामा आदर मल्टी ईन्भेष्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। आदरको जारी पुँजी १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

जारी पुँजीको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ बराबरको ५३ लाख ५७ हजार ४०० कित्ता आइपिओ सर्वसाधारणहरूलाई बिक्री गर्ने कम्पनीले जनाएको छ। आइपीओको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ हुने कम्पनीले जनाएको छ । गत पुस २९ गते सम्पन्न सातौं साधारणसभाले आइपिओ निष्कासनको प्रस्ताव पारित गरेको थियो।

महाबौद्धका व्यापारीहरुको लगानीमा राजधानीको बल्खुमा मुलुककै ठूलो सपिङ मल खुल्ने भएको छ । ५ सय २२ व्यापारीको लगानीमा नेपालकै सबैभन्दा ठूलो मल्टिस्ट्रोइ कमर्शियल कम्प्लेक्स आदार ट्रेड मलका मलको निर्माण भइरहेको छ।

आदर मल्टि इन्भेस्टमेन्टले मल्टिस्ट्रोइ कमर्शियल कम्प्लेक्स आदार ट्रेड मलको निर्माण गरेको हो । अहिलेसम्म मलको ७५ प्रतिशत वित्तीय प्रगति भएको आदार मल्टि इन्भेस्टमेन्टले जनाएको छ । मलको अनुमानित लागत ३ अर्ब ९७ करोड रुपैयाँ छ ।

मलको काम सन् २०२३ अन्तिममा सक्ने लक्ष्य भए पनि ढिलाइ हुन गएको छ । निर्माण सकिएका भवनमा महाबौद्धको बजार लगिने छ। बाँकी भवन बनिसकेपछि मात्रै महाबौद्धबाट सबै व्यापारीलाई त्यता सार्ने योजना छ। मलको सम्पूर्ण पूर्वाधार २०२५ मा सम्पन्न गर्ने योजना छ।महाबौद्धको भिडलाई कम गर्न त्यहाँको बजारलाई बल्खुमा सार्नका लागि आदर ट्रेड मलको निर्माण भइरहको हो ।

यो नेपालकै सबैभन्दा ठूलो सपिङ मल हुने दाबी गरिएको छ । अहिलेसम्म २५ प्रतिशत एरिया बुक भइसकेको कम्पनीले जनाएको छ । सहरको रिङ रोडको छेउमा सुविधाजनक रूपमा अवस्थित छ ।चीनबाट भित्रिने हरेक सस्तो कपडाको होलसेल बजार महाबौद्ध हो । त्यहाँबाट देशभरि विभिन्न ठाउँमा कपडा लगिन्छ । आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी २०७३ सालमा स्थापना भएको थियो । मलमा ८८ तल्लाका ११ वटा भवन निर्माण हुने बताइएको छ । सुविधाजनक स्थान र पर्याप्त ठाउँहरू ४ लाख वर्ग फुटभन्दा बढी बिक्रीयोग्य ठाउँहरू २ हजार पसलहरूमा फैलिने छ ।