२ कार्तिक २०८१, शुक्रबार 1729271218
Banner

राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समिकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समिकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलहरुले पनि नयाँ सत्ता समिकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यसैगरी बैठकले नयाँ सत्ता समिकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरुसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए ।

उनले भने, ‘दुई वटा ठूला दल नेपाली काँग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरु दलको समेत समर्थन घोषणा भईराखेको छ । यो जुन नयाँ समिकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।

संविधान संशोधनको विषयमा सबै दलसँग सघन छलफल गरेर हामी अघि बढछौं । ‘नेकपा एमाले र नेपाली काँग्रेसबीच आगामी सहकार्य गरेर जाने बारे जुन समझदारी भएको थियो सरकार निर्माण गर्ने सम्बन्धमा । त्यसलाई स्वागत गयो । र समर्थन गर्यो । र सँगसँगै दुई दलका नेताहरुको बीचमा जुन समझदारी भएको छ । हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाजी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीचमा जुन समझदारी भएको थियो ।
त्यो समझदारीको मूल विषयवस्तु पहिला पनि सञ्चारकर्मी साथीहरुलाई जानकारी गराएका थियौं । मुलभुत रुपमा देशमा स्थायित्व दिनका लागि सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने राष्ट्रिय सहमती जुटाउने र मुद्दामा सहमत दलहरुलाई पनि यसमा जोड्ने । जहाँसम्म नेतृत्वको सवाल छ । सरकारको नेतृत्वको सवाल छ । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आम निर्वाचन सम्पन्न गर्नेसम्मका लागि हाम्रा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने छ।

त्यो सम्झदारीलाई कार्य सम्पादन समितिले अनुमोदन गरेको छ ।