७ भदौ २०८३, आइतबार 1787538218
विश्व

सुडानमा सेना र अर्धसैनिक बलबीचको भएको लडाइँबाट भाग्न खोज्ने २५ जनाको मृत्यु

एजेन्सी । सुडानको दक्षिणपूर्वमा सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको छ।

‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्’ स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ। गत वर्ष सेना र अर्धसैनिक र् यापिड फोर्स ९आरएसएफ० बीच युद्ध शुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शन गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये यो समिति एक हो।

पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो।

प्रत्यक्षदर्शीका अनुसार आरएसएफले छिमेकी गाउँहरूमा घुसपैठ गरेर त्यहाँका बासिन्दाहरूलाई नाइल नदीपारि काठको सानो डुङ्गाहरूमा भाग्न बाध्य बनाएको थियो। संयुक्त राष्ट्रसंघले सोमबार तीन दिनभित्र सिन्जाबाट मात्र कम्तीमा ५५ हजार मानिस भागेको बताएको थियो।

छिमेकी राज्य गेडारेफमा यसै साता करिब एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीहरूले बिहीबार अनुमान गरेका छन्। राज्यका स्वास्थ्यमन्त्री अहमद अल–अमिन एडमले ९० हजार विस्थापितको दर्ता गरेको बताउनुभयो।

सुडानमा हाल एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन्। यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ। चार करोड ८० लाख जनसङ्ख्या भएको सुडानमा द्वन्द्वले हजारौँ मानिसको ज्यान लिएको छ। केही अनुमानअनुसार मृतकको सङ्ख्या एक लाख ५० हजार पुगेको छ।