३ आश्विन २०८१, बिहिबार 1726785689
Banner

हेटौँडा-काठमाडौं यातायात: तीनवटै सडक पहिरोले अवरुद्ध

हेटौँडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीका तीनै वटा सडक मार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

हेटौँडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौडाका प्रवक्ता लक्ष्मी भण्डारी बताएका छन्।

हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। 

वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाइ छ।