७ कार्तिक २०८१, बुधबार 1729743420
Banner

बाढीपहिरो अपडेट: ६३ जनाले ज्यान गुमाए

काठमाडौं । मनसुन शुरूभएयता प्राकृतिक विपत्तिबाट नेपालमा ६३ जनाले ज्यान गुमाएका छन् । यो विवरण बाढीपहिरोसँगै चट्याङमा परेर मृत्यु भएकाहरूकोे हो । गृह मन्त्रालयका अनुसार गत जेठ २८ गतेदेखि नेपालमा मनसुन भित्रिएको हो । मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकी प्रमुख एवं उपसचिव रमा आचार्यले मनसुन र चट्याङका कारण ६३ जनाले ज्यान गुमाएको जानकारी दिइन् । उनका अनुसार हालसम्म तीनजना बेपत्ता छन् भने ९० जना घाइते भएका छन् । मनसुन शुरूभएयता ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ

पछिल्लो २४ घण्टामा भने बाढीपहिरोका कारण १४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित बागलुङ, पाल्पा, सुनसरी, डोटी, तनहुँ, स्याङ्जा, काभ्रेपलाञ्चोक, उदयपुरलगायत ६३ जिल्ला बाढीपहिरोबाट प्रभावित भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोका कारण २५ वटा राजमार्ग तथा सडकखण्डमा अहिले पनि अवरोध सिर्जना भएको छ । जसअनुसार पहिरो खस्दा कान्ति लोकपथ सडक, चित्लाङ मकवानपुर सडक संख्खुवासभामा पर्ने दक्षिण कोशी राजमार्ग, कोशी राजमार्ग, उदयपुरको सिद्धिचरण राजमार्ग, रसुवाको स्याफ्रुबेशी थाम्बुचेत सडकखण्ड, नुवाकोटको पासाङल्हामु राजमार्ग, अरनिको राजमार्ग र बीपी राजमार्गलगायत छन् ।

दाङको दंगिशरण गाउँपालिका– १ रहरपुर र ४ नम्बर वडा बैबाङ जोड्ने बबई नदीमा निर्माण गरिएको झोलुंगे पुलको पिलर बाढीले बगाएपछि त्यहाँबाट अहिले आवातजावत बन्द भएको छ । त्यस्तै नारायणी नदीमा आएको बाढीले शनिबार राति भरतपुर महानगरपालिका–३ स्थित झोलुंगेपुल बगाएको छ ।

बाढी बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानीको प्रवाह भएपछि सबै ढोका खोल्नुपरेको हो । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा पहिरो खस्दा सडकमा अवरोध सिर्जना भएको छ । शनिवारदेखि अवरुद्ध सडक आइतवार बिहान एकतर्फी सञ्चालनमा आएको छ । तरपनि सवारीसाधन फस्ने भएकाले वैकल्पिक रुपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउरालीको बाटो प्रयोग गर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।