२८ जेष्ठ २०८३, बिहिबार 1781228913
Banner

चौध किलो चाँदीका गहनासहित तीन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो ।

सिआइबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्रीवितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

ललितपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रुपमा चाँदीको गरगहना ल्याई अवैध रुपमा काठमाडौँका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सिआइबीले यही असार २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।