३ आश्विन २०८१, बिहिबार 1726730169
Banner

‘उडायो सपना सबै हुरी’ ले भन्ने गीत गाएर राजीनामा दिए हुन्छ प्रधानमन्त्री ज्यू : सांसद गैरे

काठमाडौं । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोलेका सांसदहरुले राजीनामा दिन आग्रह गरेका हुन् ।

प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । उनले विपद्‌मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए ।

‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । “सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, उडायो सपना सबै हुरीले गीत गाएको भए हुने नि” उनले भने ।

सांसदहरू विद्या भट्टराई र अच्युतप्रसाद मैनालीले पनि नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई अनुरोध गरे ।