११ भदौ २०८३, बिहिबार 1787816327
Banner

बाढीमा डुबेर दुई किशोरीको मृत्यु


महेन्द्रनगर । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एक किशोरी बेपत्ता भएकी छिन् ।

पुनर्वास नगरपालिका–५, रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरती बोगटीको अवस्था अज्ञात छ । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ ।

चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाढीमा डुबेको प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । सडक समेत डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन ।

यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका थिए ।