६ कार्तिक २०८१, मंगलबार 1729659938
Banner

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

काठमाडौं । नेकपा (माओवादी केन्द्र्)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपील गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

उनले आगामी दिनमा वामपन्थी शक्तिहरुको बीचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने विषयमा प्रधानमन्त्री दाहालले स्पष्ट पारेको बताए ।

उनले भने – ‘हामी २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट ह्वीप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरुलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपील गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको छ ।

विश्वासको मतमा आएको परिणामको आधारमा एकतावद्ध भएर जनताको पक्षमा, संविधान कार्यान्वयनको पक्षमा, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा दृढताका साथ लड्ने भन्ने विषयवस्तु भयो । हाम्रो पार्टीको तर्फबाट अध्यक्षले जसरी वामपन्थीहरु बिचको एकतालाई अगाडी बढाउने बारेमा समाजवादी मोर्चालाई अगाडी बढाउने बारेमा जुन कुराकानी भएको थियो ।

कहिँ न कहीँ यो के हुने हो भन्ने स्थिति थियो । अहिले यसले धेरै स्पष्ट बनाएको छ । अब हामी सशक्तका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रश्तुत भएर अगाडी बढ्ने भन्ने निर्णय भएको छ ।’

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमती गरेको भन्दै ओलीले ढाँटछल गरेको ब्रिफिङ गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६९३० बमोजिमको सरकार बन्ने जिकिर गरे ।