३१ भाद्र २०८१, सोमबार 1726537708
Banner

प्रधानमन्त्रीको निर्देशनपछि काटिएका ६ वटा उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले यसअघिनै प्राधिकरणका एमडी कुलमान घिसिङलाई बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए । तर, घिसिङले ओलीको निर्देशन अटेर गर्दै आएका थिए ।

ओली र घिसिङको टसलबारे सदनमा समेत कुरा उठेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले घिसिङको पक्ष लिँदा सत्तापक्षले भने समस्या समाधानमा प्राधिकरण बाधक बनेको जिकिर गर्दै आएका छन् ।

विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिल लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, घोराही सिमेन्ट लिमिटेड, अर्घाखाँची सिमेन्ट लिमिटेड, जगदम्बा सिन्थेटिक र हुलास स्टिल इन्डष्ट्रिजको विद्युत लाइन काटेको थियो ।