२३ भाद्र २०८१, आइतबार 1725790692
Banner

नेपाल साहित्य, कला र संस्कृतिको उर्वर भूमि हो : प्रधानमन्त्री ओली

​​​​​​​काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा मर्नुनपर्ने बताउनुभएको छ ।

शनिबार नेकपा (एमाले) केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताउनुभयो । ‘अबको समय भनेको दीर्घ जीवनको समय हो, स्वास्थ्यका लागि थुप्रै उपचारका कुराहरू हुन्छन् ।’ ओलीले भन्नुभयो ।

अहिलेको युग उहिलेको जस्तो नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘उहिलेको जस्तो होइन, यहाँ यत्रो विघ्न डाक्टर पढाइएको छ, यत्रो विघ्न अस्पताल खोलिएको छ, यत्रो विघ्न मेसिनसेसिन किनेर ल्याइएको छ, यत्रो विघ्न औषधी छन् ।’ उहाँले भन्नुभयो ।

आफू इञ्जिनको पार्टपुर्जा फेरे जस्तै दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको ओलीले सुनाउनुभयो । यो सबै विज्ञान प्रविधिको विकासका कारण भएको उहाँले बताउनुभयो ।

उहाँले साहित्यकार नेत्रप्रसाद गौतम ८० वर्ष पूरा हुनु भए पनि अझै धेरै कृति लेख्ने विश्वास व्यक्त गर्नुभयो । ‘भर्खर ८० वर्ष हुनुभयो, थुप्रै काम गर्न बाँकी छ, थुप्रै कुरा गर्न बाँकी छ ।’ उहाँले भन्नुभयो ।

नेपाली भूमि साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उहाँले बताउनुभयो । उहाँले नेपाल ज्ञानको उत्पत्ति र विस्तार भएको ठाउँ भएको ओलीले दाबी गर्नुभयो । अनुभवहरू परिष्कृत भएपछि ज्ञान बन्ने उहाँको भनाइ छ । ‘ज्ञान विकास गर्ने, सञ्चित गर्ने र विस्तार गर्ने कार्य धर्तीको यही भूभागमा भएको थियो ।’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरूको पनि उर्वर भूमि भएको बताउनुभयो । भानुभक्त, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएका उहाँले बताउनुभयो ।
रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने साहित्य रचनाकारहरू नेपालमा मात्र भएका उहाँले प्रष्ट पार्नुभयो । त्यस्तो प्रतिभा विश्वमा अन्यत्र नभएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

नेपाली साहित्य आज माथि उठ्न खोजेको भएपनि कुन बाटोबाट अघि बढ्ने भन्ने बहस चलिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसको लागि वृहत् छलफल आवश्यक रहेको उहाँले सुनाउनुभयो ।