७ आश्विन २०८१, सोमबार 1727071937
विश्व

भारतको चिया बगानमा पहिरो जाँदा ९३ जनाको मृत्यु

बेङ्गलुरु, (रासस/एएफपी) – भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् ।

केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भन्नुभयो, “हालसम्म ९३ शव फेला परेका छन् । यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो ।”

अन्य एक सय २८ जनालाई उद्धारपछि उपचारका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “मेरो विचारहरू आफ्ना प्रियजनहरू गुमाउने सबैसँग र घाइतेहरूका लागि प्रार्थना छ ।”

जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन् । नेशनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्बिरहरूले उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरहरूमा शवहरू बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ ।

पहिरोले कार, नालीदार फलाम र विपद् स्थल वरपरका अन्य फोहोरहरू छरिएका कारण घरहरू खैरो धुलोले भरिएका थिए ।

भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ । केरला राज्य मन्त्री एम।बी। राजेशले हालसम्म दुई सय ५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताउनुभएको द हिन्दू पत्रिकाले जनाएको छ ।

उक्त घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ । केरलामा मङ्गलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।