२८ भदौ २०८३, आइतबार 1789334294
Banner

पार्टी बैठक सरकारी निवासमा राख्दिन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गर्नुभएको छ। बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै यस्तो घोषणा गर्नुभएको हो। 

 प्रधानमन्त्री ओलीले आफ्नो घोषणामा लेख्नु भएको छ –सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।

आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यस पटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।

नेकपा एमालेको सचिवालय बैठक होटेल बसेरामा बस्ने भएको छ । ओलीकै घोषणा अनुसार पार्टी कार्यालय डुबानमा परेपछि बिहीबारको  बैठक होटेल बसेरा हनुमान थानमा बस्ने भएको छ  । बिहीबार बिहानैदेखि पार्टी कार्यालयमा बाढीका कारण पसेको लेदो लगायतका वस्तु  हटाउने काम भइरहेको छ।

केन्द्रीय नेताहरूको कार्य विभाजन सम्बन्धमा निर्णय गर्न  यो बैठक बस्न लागेको हो ।गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कार्य विभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्य विभाजन गर्न लागिएको  एमाले नेताहरुले बताएका छन् । 

मङ्गलवार रातिको अविरल वर्षापछि मनोहरामा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको थियो ।