१७ असार २०८३, बुधबार 1782952362
Banner

एमाले सचिवालय बैठक होटल बसेरामा जारी

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक काठमाडौंको हनुमानस्थानस्थित होटल बसेरामा शुरु भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय मंगलबार रातिको भारी वर्षाका कारण डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा बसेको हो।

केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा आजको बैठकले निर्णय गर्ने जनाएको छ। बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

पार्टीले गतवर्ष असारमा नेताहरुलाई एकै पटक साविक भूगोल र विभागमा भन्दा फरक भूगोल र विभागमा जिम्मेवारी दिएर पठाएको थियो। जेठ महिनासम्ममा जिल्ला वा सो भन्दा मुनीका सबै कमिटीहरुको अधिवेशन गरिसक्नु पर्ने कार्यादेशसहित फरक भूगोलमा खटाइएका नेताहरुलाई आज पुरानै भूगोलमा फर्काउने तयारी छ। सचिवालयका एक नेताका अनुसार सचिवालयको अघिल्लो बैठकले नै नेताहरुको जिम्मेवारी हेराफेरीको सूची बनाइसकेको छ। तर यसैबीचमा पार्टी सरकारमा गएको र मन्त्री भएका नेताहरुलाई भूगोल र विभागको जिम्मेवारीबाट अलग गर्ने नीति लिइएकोले उक्त विषयमा निर्णय गर्न केही ढिलाइ भएको थियो।

आजको बैठकले केही केन्द्रीय विभागका नेताहरुलाई यथावत जिम्मेवारीमा राख्ने, मुख्यमन्त्री, मन्त्री भएका नेताहरुलाई भूगोलको जिम्मेवारीबाट अलग गर्ने, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्जहरु तोक्नेछ।