३ आश्विन २०८१, बिहिबार 1726801709
Banner

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समयसिमा भित्र नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी देखिएको छ ।

त्यहाँ प्रकाश देउवा र बहादुरसिंह थापा पनि मुख्यमन्त्रीका आकांक्षी रहेपछि कांग्रेसले अहिले बिहान ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठकले उम्मेदवारको विषयमा ठोस निर्णय गर्नेछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।