६ आश्विन २०८१, आइतबार 1727060870
Banner

संसद्का दुवै सदनको बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक २ मा बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर पनि गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको ‘बाधा अड्काउ फुकाउ’ आदेश सदन समक्ष पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछिन्।

राष्ट्रिय सभाको बैठकमा कानूनमन्त्री चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेश गर्नेछन्।

यस्तै शिक्षामन्त्री भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ।