भाइ दाताराम प्रसाईं, ३९ ले हिजो बिहानबिहानै आत्महत्या अर्थात् इच्छामृत्यु रोज्यो । झापा गौरादहको फकिरढिप निवासी दातारामको दमक अस्पतालमा गरिएको पोस्टमार्टम लगत्तैपछि दिउँसो अन्त्येष्टि कर्मसमेत सम्पन्न भयो । घरनजिकै स्थायी बहावमा रहने गैरिया खोला किनारस्थित दाहसंस्कारस्थलमा दिवंगत दातारामको अन्तिम दर्शनस्वरुप जुटेको मलामीजनका आँखा अस्भाविक ढंगले रसाएको थियो । घाटमा एमाले कोशी प्रदेश नेता अमर शिवाकोटी, वलबहादुर तामाङ, बलराम खरेललगायत सयौं स्थानीय राजनीतिक कार्यकर्ता र सामाजिक अगुवासहितको भीड उल्लेख्य थियो । असंख्य यो भीडमा उभिनुभएको शिवाकोटीसँगै हातेमाले गर्दै आउनुभएका थुप्रै झापाली भद्रभलाद्मीहरू– केही समययता युवाहरूमा लहड झैँ भयो आत्महत्या, आत्महत्याको दर ह्वात्तै बढ्यो, वर्षभरिमा झण्डै दर्जनजति युवाले आत्महत्या गरेको सुनिन्छ, आधा दर्जनजतिमा त मलामी नै जाने, सामेल हुने र पुग्ने गरिन्छ भनेर मलिनस्वरमा भन्दै हुनुहुन्थ्यो । यता मेरो मनमा पनि दाताराम किन यो निर्णय लिन पुग्यो होला ! आखिर यो न समाधान थियो, न वैकल्पिक सर्वोत्कृष्ट उपाय नै । यदाकदा कतिपय कुरा सेयर गरेको भए पनि त हुने नि ! कपाल च्याउसरि सेत्तै फुलेकी बुढी आमा, काम गरेर कहिल्यै नथाक्ने जाँगरिली श्रीमती र बासका लहहल लाग्ने कल्कलाउँदा मुनाजस्ता आकर्षक दुइजना लालाबाला छोरालाई कसरी बिर्सन सक्यो होला ! आफू नहुँदा यिनलाई हुने पीर र थपिने पीडाबारे किन मनन गरेन होला ! मनमा प्रशस्तै कुरा खेलिरहेका थिए । मेरो मनमा पनि बग्रेल्ती संशय र प्रश्न जन्मिइरहेका थिए । एकाएक मन भावुक बन्यो, अनुत्तरित प्रश्नले आँखाका डिलडिलमा तैरियो र लहरिँदैलहरिँदै कुर्थाको किनारे पुछ्ने बनायो । निकैबेर निकै भावुक भएँ ।
अलिअलि पढालेखा लाग्ने, सामाजिक रूपमा सचेत र विवेकी केही अनुहारमाझ उभिएर आखिर किन गर्छ त मानिसले आत्महत्या भनेर जिज्ञासा राखेँ । उछिनपाछिन गर्दै मिश्रितस्वरमा जवाफ आयो– भ्रष्टाचार कर्मचारीतन्त्रका कारणले, माथिका कतिपय नेताका कारणले, केही राजनीतिक दलका कारणले, अहिलेको अफाव र अनुदार राज्य व्यवस्थाका कारणले आदि–आदि । मनमा आग्लो झैँ भएर प्रश्न खड्कियो– के यो साँचो हो त ? आत्महत्यालाई प्रोत्साहन गर्न यो मात्र प्रमुख कारण हो त ? अहँ, किमार्थ होइन । तथापि, चितामा चढेको भाइको लमतन्न ज्यान आगोको लप्कासँगै दन्किरहेको थियो, यहाँ दोहोरो बोलचाल गर्ने स्थिति, अवस्था र अनुकूलता थिएन । गरिनँ ।
शब्द–श्रद्धा र समर्पण
पछिल्लो समयमा आफ्नो ज्यानमा पेट्रोल छर्केर राजधानी काठमाण्डौंको बानेश्वरमा इलामका प्रेम आचार्यले आत्महत्याको बाटो रोज्नुभयो । यस्तैयस्तै धेरै केही घटनाक्रमहरू छन् । अर्थात् समाजका वा देशका प्रतिष्ठित व्यक्तिले समेत आत्महत्या गरेको समाचार पढेका, सुनेका र कतिपयले त देखेका पनि थियौँ, छौँ । अहिले त गाउँ–शहर, धनी–गरीब, शिक्षित–अशिक्षित सबै तप्का युवातन्नेरीदेखि बृद्धबृद्धासमेतले आत्महत्या गरेका घटनाहरू प्रशस्तै मात्रामा सुन्न पाइन्छन् । असाध्यै अप्रिय मान्दै र मन कुँडाउने अमिलो पार्दै यस्ता घटनाहरू सुन्न र ग्रहण गर्नुपर्छ । आखिर मानिस आफूले आफैंलाई किन यसरी आफ्नो देह समाप्त पार्छ ? आफूलाई किन क्षणभरमै समाप्त पार्छ ? भरखरै अघिसम्म सँगसँगै कुँदिएको घरपरिवारलाई जीवनभरि असजिलो परिस्थिति सिर्जना गर्दै किन इच्छामृत्युको बाटो रोज्छ ? यो कठोर प्रश्नले सचेत पंक्तिलाई च्वास्सच्वास्स घोचेको हुनुपर्छ । मलाई साह्रै धेरै घोचिरहेको छ ।
प्रस्तुत आलेख इच्छामृत्युस्वरुप आत्महत्याको बाटो अँगाल्ने भाइ दाताराम प्रसाईंलगायत उहाँ स्थानीले भन्नु भए झैँ मृत्युवरण गर्नुहुने कैयौंको सम्झना र सम्मानमा समर्पित गर्दै यो दरलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी कम गर्न सकिन्छ भन्नेतर्फ अग्रसर रहने छ ।
समाजको डरलाग्दो अवस्था
मनोविद्हरू एकसमाज अवधारणका साथ भन्नुहुन्छ– तीब्र मनोविचलनका कारण मानिसले गर्ने मृत्युवरण गरिने अवस्था आत्महत्या हो । आत्महत्या अर्थात् अर्को अर्थमा आत्महानी पनि हो । प्रायशः विष सेवन गरेर, एकान्तस्थलमा झुण्डिएर, हिंस्रक जनावरसँग नजिकिएर, धारिलो हतियारबाट काटिएर, वेगवान गाडीमुनि थापिएर, खोलामा हाम्फालेर, आफैंमाथि गोही प्रहार गरेर मानिसले आत्महत्या गर्ने गरेको समाचारमा पढ्न पाइन्छ । नेपाल प्रहरीको पछिल्लो एउटा तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेको खुलासा सार्वजनिक भएको छ । यो अप्राकृतिक मत्युवरण गरेको संख्या निकै भयावह र कहालीलाग्दो घटना र सामाजिक यथार्थ दुबै हो ।
स्वास्थ्यस्थिति बिग्रँदै जाँदा सामाजिक रूपमा उब्जने समस्या एकातिरको कटुसत्य हो भने अर्कोतिर सामाजिक अपराधको रूपमा मौलाउनु पनि उत्तिकै जटिल र गम्भीर पक्ष हो । नवउदारवादी पूंजीवादको प्रभावस्वरुप समाजमा झाँगिएको देखासिखीको संस्कृति, अहंकारवादको प्रश्रय, रहर कार्यान्वयनमा अनुचित अग्रसरता, तँछाडमछाड र उछिनपाछिन उपभोक्तावादी चिन्तन र व्यवहार, सामाजिक मूल्यमान्यता र दैनन्दिन व्यवहारमा हावी हुने आयतित पश्चिमा जीवनशैली आदि आत्महत्याको कारण होइन ? किन हामी यसतर्फ सचेत, सजग र गम्भीर रहन सक्दैनौँ ? घाँटी हेरेर हड्डि निल्नुपर्छ भन्ने बुढापाकाको बुझाइलाई किन अनुसरण गर्न सक्दैनौँ ?
भोगाइको तितो विगत
कोरोना महामारीको उत्तरार्धमा पनि धङधङी कायमै थियो । एउटा बैंकले घरनजिकै शाखा कार्यालयको रूपमा कारोबार आरम्भको औसरमा मलाई पनि बोलायो । नगरप्रमुख सँगसँगै मैले पनि रिबन काट्ने औसर पाएँ । केहीबेर चलेको गफगाफपछि शीतल आराम–विश्रामकक्षमा जलपान आरम्भ भयो । एकजना स्टाफले नागरिकता छ हजुरको भन्दै जिरो ब्यालेन्समा बैंक खाता खोल्न अफर गर्नुभयो । अहिले त जिरो ब्यालेन्समा खाता खोलौला तर समयक्रममा जमा गर्ने पैसा मसँग छैन, म त शुद्ध राजनीति गर्ने मानिस, बीचबीचमा रकम कहाँबाट जमा गरुँला र ! म खाता खोल्दिनँ– मैले अनुनयविनयका साथ भने । मान्नुभएको थिएन, कर नगर्नुस् भने । बल्ल थान्को लाग्नुभयो ।
सुपाच्य र सुयोग्य जलपानपछि बैंक शुभारम्भको औसरमा शुभेच्छा मन्तव्य राख्ने क्रम सुरु भयो । मैले पनि केही शब्द–शुभेच्छा राखेँ । बैंक पसिरबाट हिड्नपूर्व उपहारस्वरुप मायाको चिनो हातमा थमाउँदै हेरिहेरि ६० देखि ७० प्रतिशत डाउन पेमेन्टमा गाडी लञ्च गरेको छ बैंकले । हजुरले एउटा कुनै पनि लिनुपर्छ भनेर मलाई प्रबन्धक निर्देशकले सम्झाइबुझाइ गर्न थाल्नुभयो । मनमा त गाडी चढ्ने हो कि भन्ने पनि लागेको छ । श्रीमतीसँग कञ्चोभर सल्लाह भएको थिएन यस विषयम । यत्तिकैमा भएको मोटरबायक त धान्न सक्ने अवस्था छैन मेरो, म कसरी गाडी लिएर शहरबजारमा हुइँकन्छु होला मेनेजर साहब भने ।
अहिले सम्झँदै छु– त्यो बेला मैले सस्तो, सजिलो र सहुलियत दरमा पाएको गाडी लिएको भए म यो स्वतन्त्र जीवन बाँच्न पाउने थिइनँ होला ! गाडीको नियमित किस्ता र सम्भावित तमाम विषयोपरका खर्च गर्न नसक्दा, यसवापत लागेको ऋण भुक्तान गर्न नसक्दा केही अनुचित बाटो अपनाउनुपर्ने थियो होला ! साथीभाइमाझ बेइमानको सरदार पगरी गुथेर लुकिलुकि हिड्नुपर्दथ्यो होला ! मोबाइल नउठाउनेदेखि लिएर नम्बर फेरबदल गर्दै हिड्नुपर्ने दिन आउने थियो होला ! के थाहा– मेरो नामको सम्झनाको दोस्रो वार्षिक श्राद्ध हुने थियो होला शायद !
समाजको यथार्थ र बुझाइ
बिदेशमा बस्ने शुभचिन्तकले हामी कतिपयलाई लाख वा लाखभन्दा बढी पर्ने मोबाइल पठाएको छ । हातमा लाखको मोबाइल हुन्छ । विडम्बना ! कुराकानी गर्न काम लाग्दैन । पठाउनेले मोबाइल मात्र पठायो, रिचार्ज पठाएन । रिचार्जबिना कुराकानी हुँदैन । घरमा नेट इन्टेरनेट जोडिएको हुँदैन । उहिल्यै कहिल्यै जोडिएको नेट इन्टरनेटलाई चलाउने राउटर रिचार्ज भएको हुँदैन । सामाजिक सञ्जालमा रत्तिन पाउदैन । फलस्वरुप, यो औसत महंगो मोबाइल बोक्नेले प्रायशः नोटमा मात्र कुराकानी गर्ने गरेको र यो कुराकानीका लागि साथीभाइका घरद्वारमा चाहर्ने गरेको थुप्रै दृश्यचित्र देखेको छु । सामाजिक मान, शान र अभिमानका लागि भए पनि छोराछोरीलाई महंगा स्कुलमा पढाएको छ । कसैले एकपटक पत्यायो भन्दैमा महंगा र ब्राण्डेड कपडा लगाएको छ । शहरबजारका महंगा शैलुनमा दाह्री कपाल कटाउने गरेको छ । औकातभन्दा उपल्लो जीवनशैलीले औचित्य पुष्टि गर्न छाडेपछि दैनन्दिन जीवनमा बजारको सस्याना कुराले जीवनमा ठूलो अर्थ राख्छ भन्ने यथार्थलाई बुझ्न आवश्यक ठान्दैन । फलतः कहिलेकाहिँ आइलाग्ने साना कुरामा चित्तबुझ्न नसकेपछि आत्महत्याको बाटो समाएको छ ।
सँगैको साथीले महंगा वस्तुहरू प्रयोग गर्ने गरेको, महंगा गाडीमा हुइँकिएको, महंगा उपकरण खरिदमा साथी रमाउने गरेको, जहाज यात्रासँगै देश–विदेश गर्ने गरेको, धुमधामसँग जन्मदिन जन्मोत्सव मनाएको, महिनौं लगाएर चाडपर्वहरू मान्ने गरेको, हल्दी मेहन्दी हुँदै धुमधामसँग छोरीको विवाह आदि गरेको देखर मख्ख अर्को नजिकैको साथी पैसा कमाउने लालसामा भौतारिने घटनाक्रमले पनि जीवनउत्सर्ग गर्ने ठाउँमा पुगेको कैयौँ घटनाहरू छन् । आफ्नो औकातले इजाजत दिँदैन भने वा सामथ्र्यले भ्याउँदैन भने जरुरी छ रहरको पुल बाँधेर अन्धाधुन्द निलो आकाशमा तैरिन ?
हामी औसत कमजोर र निरक्षर बाबु–आमाका उत्तराधिकारी । ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्नुहुने बाबु–आमाको अहोरात्रकालीन श्रम र श्रमको प्रतिफलस्वरुप प्राप्त जीवनलाई बाबु–आमाकै ढाँचा र ढर्रामा पनि चलाउन, गुडाउन र हुइँक्याउन सक्दैनौँ त ? कस्तो नामर्द भयो अहिलेको पुस्ता ? कस्तो पानी मरुवा भयो वर्तमान पुस्ता ? गरिखानु भनेको देखासिखी मात्र हो त ? गरिखाने आयाम, स्रोत र साधनहरू फरकफरक हुन सक्दैनन् ? कसिलो आँट बटुल्ने, आफैंमा भरोसा बढाउने, अदम्य साहास अभिबृद्धि गर्ने खालका अभियानलाई व्यापक स्तरमा सञ्चालन गर्नु आवश्यक छ ।
बढ्दो हिनभाव र नियन्त्रण
अहिले समाजमा सकारभन्दा नकार अभिव्यक्ति बढी छ । यत्रतत्र केही भएको नदेख्ने, दोषजति सबै अर्कोलाई थोपर्ने, जश लिने र अफजश सारथिमाथि पोख्ने प्रचलन बढेको छ । यो सँगसँगै आत्महत्या पनि फस्टाएको छ । कुनै पनि विषयोपर विमर्श चल्नासाथ राजनीतिक दल, नेतृत्व र व्यवस्थालाई दोषी देख्ने मानसिकता यसैको उपज हो ।
आत्महत्याको विषय कुनै राजनीतिक दल, नेता, कार्यकर्ता विशेष होइन, सामुहिक प्रयासको प्रतिफलस्वरुप उब्जने विषय हो । समाजमा, घरपरिवारमा कोही एकजना सदस्यले अलि भिन्नखालको व्यवहार गर्ने, अन्तरमुखी हुने, एकोहोरिने हुनेजस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा आवश्यक उपचारमा ध्यान देला तर व्यक्ति आफैंले चाहिँ केही गर्न पर्दैन त ? सचेतना जरुरी छ । समाजको प्रत्येक व्यक्तिलाई जीवनमा आइलाग्ने विभिन्न परिस्थितिसँग जुध्ने क्रमविकाससँगै व्यक्तिको क्षमता विकासमा लाग्नु जरुरी छ ।
आफूभित्र हिनभाव राख्ने, हिनताका साथ आफ्ना आनीबानी, व्यवहार र सोचलाई संगठित गर्ने तौरतरिकालाई कसरी बदल्ने ? कसरी सकारात्मक बनाउने ? एउटा विकृत सामाजिक र मानसिक अवस्थाबाट विकसित आफ्नो कोर्सलाई अद्यावधिक गर्दै डिस्कोर्स आरम्भ गर्नुपर्छ । यसले आत्महत्या अर्थात् आत्महानीलाई व्यवहारतः न्युन गर्न सकिन्छ जस्तो लाग्छ ।
समाजको कायापलक गर्छु भन्ने राजनीतिक दलबाहेकका शक्तिले पनि आत्महत्याको विषयोपर मानसिक स्वास्थ्यस्थितिका बारेमा पर्याप्त शिक्षा र सचेतना फैलाउनु जरुरी छ । मानिसलाई कमजोर आँकेर होइन, माथि उठाएर पनि दह्रिलो बनाउन सकिन्छ । मनोवैज्ञानिक सहयोग अपरिहार्य छ । मन नपरेको मानिसलाई भित्तामा टाँस्ने हाम्रो चलन आफैंमा घातक छ । यसको सट्टा बरु परिवार र समुदायसँगै सामाजिक समर्थन पीडितप्रति जुटाउनुपर्छ । गरिबी र बेरोजगारी नै मुख्य समस्या हो भने आर्थिक सुधारमार्फत यसको मात्रा घटाउन सकिन्छ । सबैले आत्मसम्मान महशुस भएको ठाउँ निर्माणका लागि समाजलाई सहअस्तित्वमा आधारित अर्थात् पूर्णतः सामाजिक समावेशितामा आधारित बनाउनुपर्छ ।
लाक्षणिक पक्ष र उपचार
मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोविद् र तालिम प्राप्त स्वास्थ्यकर्मीबीचको सहकार्यबाट निकालिएको निष्कर्षलाई आधार मान्ने हो भने कुनै पनि मानिसलाई निराश, असहाय, झोक्रिएर बस्ने, बेकार महसुस गर्ने वातावरणमुक्त माहौल बनाउनुपर्छ । यदाकदा एक्कासी धेरै खुसी हुने वा एक्कासी धेरै दुःखी हुने पात्रविशेष प्रवृत्ति दुबै खराब हुन् । यसमाथि ध्यान दिनुपर्छ । आफैंलाई हानी गर्ने जोखिमपूर्ण व्यवहार गर्न दिनुहुँदैन । मृत्यु र यसले सर्वत्र पार्ने असरबारे कुरा गर्ने गर्नुपर्छ । व्यक्ति क्रियाशील छ र त संसार चलेको छ भन्ने अर्थमा परस्पर हौसलासहित स्नेहशील सम्बन्ध, प्रगाढ मायाप्रेम, जिम्मेवारी र दायित्वबोधबारे मनोपरामर्श चलाउनुपर्छ ।
घरपरिवारजन, इष्टमित्रहरूलाई भेट्दा वा बिदाइमा प्रस्तुत हुँदा प्रकट हुने हाउभाउलाई ख्याल गर्नुपर्छ । आफ्नो सम्पत्ति अनाहकमा बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने, आत्महत्या गर्नुपूर्व आफ्ना कुरा र व्यवहारहरू सिलसिलाबद्ध रुपमा मिलाउने तहमा विकसित शैलीलाई ध्यान दिनुपर्छ । लागूपदार्थको अत्यधिक प्रयोग गर्ने तहमा मानिस कसरी पुग्यो ? सुक्ष्म अध्यनन अनुगमन र नियन्त्रण गर्नुपर्छ । कुनै मानिस किन बढ्ता निराश, उदास बस्छ ? ख्याल गर्नुपर्छ । गम्भीर भावनात्मक चोट व्यवहोर्न पुगेका मानिसले नजिकको कुनै पनि व्यक्ति गुमाएको, सम्बन्ध–विच्छेद आदि, दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरू, युद्ध–हिंसा, आघातजन्य घटना, सामाजिक बहिष्कार आदि अनुभव गरेका व्यक्तिहरूमाथि विशेष निगरानी गर्नुपर्छ । यसले पनि परस्पर सहयोग लिन प्रोत्साहन मिल्न सक्छ ।
सुन्दर पुष्पस्वरुप प्राप्त यो जीवनलाई घृणामा होइन, दैनन्दिन सर्वप्रिय सुगन्ध साथमा लिएर बाँचौँ र कोमलस्पर्शका साथ अरुलाई पनि बाँच्न प्रेरित गरौँ ! सबैमा शुभेच्छा समर्पित रहँदै … !!