५ आश्विन २०८१, शनिबार 1726922249
Banner

बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसद्वारा शपथ, मन्त्रिपरिषदमा को-को ?

ढाका-नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखको रूपमा शपथ लिनु भएको छ।बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा शपथ गराउनु भएको हो।

युनुससँगै अन्तरिम सरकारका सदस्यहरूले पनि शपथ खाएका छन्। अन्तरिम सरकारमा १६ सदस्य छन्। जसमध्ये दुई जना नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरुद्धको आन्दोलनका अगुवा विद्यार्थी नेता छन्।

अन्य सदस्यमा बंगलादेशको वातावरण कानुन संघकी प्रमुख कार्यकारी सायदा रिजवाना हसन, महिला अधिकारकर्मी फारिदा अख्तर, मानवअधिकारवादी संगठन ‘अधिकार’का संस्थापक अदिलुर रहमान खान, ‘हफाजत ए इस्लाम’का सल्लाहकार एएफएम खालिद हुसेन, ग्रामीण बैंककी संस्थापक नुरजहाँ बेगम, स्वतन्त्रता सेनानी शर्मिन मुर्सिद, बिर प्रतिक फारुक–ए–आजम, बंगलादेश बैंकका पूर्व गर्भनर सलेहुद्दिन अहमद, ढाका विश्वविद्यालयका कानुनका प्राध्यापक आसिफ नजरुल, पूर्व महान्यायाधिवक्ता हसन आरिफ, सेवानृवित्त जर्नेल एम सकहवत हुसेन, चटगाउँ हिल ट्र्याक डेभलेपमेन्ट बोर्डका अध्यक्ष सुप्रदीप चक्मा, प्राध्यापक विधान रञ्जन रोय र पूर्वविदेश सचिव तौहिद हुसेन छन्।

यीमध्ये सुप्रदीप, फारुक–ए–आजम र विधान रञ्जन रोय राजधानी ढाकाबाहिर रहेकाले बिहीबार शपथ खान पाएनन्।

शपथ खाएसँगै अन्तरिम सरकार प्रमुखका रूपमा ८४ वर्षीय युनुसको काँधमा बंगलादेशमा शान्ति स्थापित गर्ने र नयाँ चुनाव गराउने जिम्मेवारी आइपरेको छ। 

बिहीबार राति शपथ ग्रहण समारोहमा बंगलादेश नेसनलिस्ट पार्टीका नेता, बेलायत, जापान, चीन, कतार, नेदरल्यान्ड्स, यूएई, फिलिपिन्स, इरान तथा अर्जेन्टिनाका कूटनीतिज्ञ सहभागी थिए। तर पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगका भने कुनै पनि नेता उपस्थित थिएनन्।